नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली
नेपाल सरकारको निशान छाप
नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय
कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्र

किसान प्रयोगकर्ता निर्देशिका

किसान सूचीकरण प्रणाली
प्रयोगकर्ता: सूचीकृत किसान

यो निर्देशिका किसानका लागि तयार पारिएको हो। प्रणालीमा प्रवेश गरी आफ्नो दर्ता विवरण, किसान परिचय पत्र र आफूले पेस गरेको विवरण हेर्न सकिन्छ।

किसानले आफ्नो विवरण मात्र देख्दछ। अरू किसानको विवरण देखिँदैन।

विषयसूची

१. आफैँ दर्ता हुनुहोस् (पहिलो पटक)

प्रणालीमा खाता नभएका किसानले लग-इन पृष्ठको “किसान दर्ता” बाट आफैँ दर्ता हुन सक्नुहुन्छ। दर्ता सफल भएपछि प्रणालीमा आफैँ लग-इन हुन्छ र आफ्नो विवरणका बाँकी खण्ड भर्ने पृष्ठ खुल्छ। तपाईंको मोबाइल नम्बर नै अबदेखि लग-इन हुन्छ।

आफ्नो वडा वा पालिकामा गणक/सहजकर्ता मार्फत पहिल्यै दर्ता भइसक्नुभएको छ भने फेरि दर्ता नगर्नुहोस्; त्यही मोबाइल नम्बरबाट लग-इन गर्नुहोस् वा पालिकासँग सम्पर्क गर्नुहोस्।

आफैँ दर्ता हुनुहोस् (पहिलो पटक)
चित्र १: आफैँ दर्ता हुनुहोस् (पहिलो पटक)
  1. १आफ्नो चलेको मोबाइल नम्बर लेख्नुहोस् (९८/९७/९६ बाट सुरु हुने १० अङ्क)। अर्को खातामा दर्ता भइसकेको नम्बर मिल्दैन।
  2. २कम्तीमा ८ अक्षरको पासवर्ड बनाई “पासवर्ड पुनः” मा उही पासवर्ड फेरि लेख्नुहोस्। आँखा चिन्हबाट लेखेको पासवर्ड हेर्न सकिन्छ।
  3. ३नाम देवनागरीमा लेख्नुहोस्; अङ्ग्रेजी नाम ऐच्छिक हो। लिङ्ग, जन्म मिति (वि.सं.) र शैक्षिक योग्यता छान्नुहोस्।
  4. ४स्थायी ठेगानामा प्रदेश, जिल्ला, स्थानीय तह र वडा क्रमैसँग छानी टोल लेख्नुहोस्। खेती स्थायी ठेगानामै भए “स्थायी ठेगाना सरह” मा चिन्ह लगाउनुहोस्।
  5. ५नागरिकता नम्बर (/ को सट्टा - प्रयोग गर्नुहोस्) र जारी जिल्ला भर्नुहोस्। राष्ट्रिय परिचयपत्र नम्बर भए लेख्नुहोस्।
  6. ६कृषि कार्यको क्षेत्र (कृषि, पशुपन्छी वा मिश्रित) र वर्षमा कति महिना कृषि कार्य गर्नुहुन्छ छान्नुहोस्।
  7. ७विवरण दर्ता तथा प्रशोधन गर्न सहमत भएकोमा चिन्ह लगाउनुहोस्।
  8. ८“दर्ता गर्नुहोस्” थिच्नुहोस्। दर्ता भएपछि किसान कोड देखिन्छ र पारिवारिक विवरणको खण्ड खुल्छ; त्यहाँबाट अर्को अध्याय अनुसार भर्नुहोस्।
ध्यान दिनुहोस्रातो देखिएका बाकस सच्याएपछि मात्र दर्ता हुन्छ। एउटै नागरिकता नम्बरबाट दुई पटक दर्ता गर्न मिल्दैन।

२. प्रणालीमा प्रवेश (लग-इन)

प्रणालीमा प्रवेश गर्न किसानलाई तोकिएको प्रयोगकर्ता नाम र पासवर्ड आवश्यक पर्दछ। पासवर्ड बिर्सनुभएको वा खाता बन्द भएको अवस्थामा सम्बन्धित स्थानीय तह वा कृषि कार्यालयमा सम्पर्क गर्नुहोस्।

प्रणालीमा प्रवेश (लग-इन)
चित्र २: प्रणालीमा प्रवेश (लग-इन)
  1. १“मोबाइल नम्बर / इमेल आईडी” बाकसमा आफ्नो मोबाइल नम्बर लेख्नुहोस् (उदाहरण: 9800000083)।
  2. २“पासवर्ड” बाकसमा आफ्नो पासवर्ड लेख्नुहोस्। लेखेको पासवर्ड हेर्न बाकसको दायाँपट्टिको आँखा चिन्हमा क्लिक गर्नुहोस्।
  3. ३“लग-इन गर्नुहोस्” बटनमा क्लिक गर्नुहोस्।
ध्यान दिनुहोस्आफ्नो पासवर्ड कसैलाई नबताउनुहोस्। सार्वजनिक कम्प्युटरबाट प्रयोग गर्नुभएको छ भने काम सकिएपछि अनिवार्य रूपमा लग-आउट गर्नुहोस्।

३. मेरो प्रोफाइल

लग-इन गरेपछि आफ्नो प्रोफाइल देखिन्छ। यसमा तपाईंको दर्ता विवरण, कुन-कुन फारम भरिएको छ र किसान परिचय पत्रको अवस्था देखिन्छ। प्रोफाइलमा आफ्नो नाम, किसान कोड र ठेगाना ठीक छ कि छैन हेर्नुहोस्।

मेरो प्रोफाइल
चित्र ३: मेरो प्रोफाइल
  1. १किसान परिचय पत्र: आफ्नो परिचय पत्र हेर्न।
  2. २परिवार तथा जग्गा: परिवार र जग्गाको विवरण हेर्न।
  3. ३बाली तथा पशुपन्छी: आफ्नो उत्पादनको विवरण हेर्न।

४. किसान परिचय पत्र हेर्नुहोस्

परिचय पत्र जारी भइसकेको भए यसमा परिचयपत्र नम्बर, जारी मिति र म्याद देखिन्छ। म्याद सकिन लागेमा नवीकरणका लागि स्थानीय तहमा सम्पर्क गर्नुहोस्। परिचय पत्रको छापिएको प्रति स्थानीय तहबाट प्राप्त गर्नुहोस्।

किसान परिचय पत्र हेर्नुहोस्
चित्र ४: किसान परिचय पत्र हेर्नुहोस्
  1. १बायाँ मेनुबाट “किसान परिचय पत्र” खोल्नुहोस्।
सूचनापरिचय पत्र अझै जारी नभएको भए यहाँ प्रक्रिया कुन चरणमा छ भन्ने देखिन्छ।

५. परिवार तथा जग्गाको विवरण

यस पृष्ठमा तपाईंको परिवारको संरचना र कृषिमा संलग्न सदस्यको विवरण देखिन्छ। विवरण फरक परेमा सच्याई सुरक्षित गर्न सकिन्छ।

परिवार तथा जग्गाको विवरण
चित्र ५: परिवार तथा जग्गाको विवरण
  1. १परिवारमा पुरुष र महिला सदस्य संख्या ठीक छ कि छैन हेर्नुहोस्।
  2. २नयाँ सदस्य थप्नुपरेमा “सदस्य थप्नुहोस्” मा क्लिक गर्नुहोस्।
  3. ३परिवर्तन गरेपछि “सुरक्षित गरी अगाडि बढ्नुहोस्” मा क्लिक गर्नुहोस्।
ध्यान दिनुहोस्परिचय पत्र जारी भइसकेको अवस्थामा जग्गा, आय र पशुपन्छीको विवरण सच्याउँदा स्थानीय तह हुँदै केन्द्रको स्वीकृति चाहिन्छ।

६. बाली तथा पशुपन्छीको विवरण

यस पृष्ठमा तपाईंले कुन-कुन बाली लगाउनुहुन्छ र के-कति पशुपन्छी पाल्नुहुन्छ भन्ने विवरण राखिएको हुन्छ।

बाली तथा पशुपन्छीको विवरण
चित्र ६: बाली तथा पशुपन्छीको विवरण
  1. १बाली लगाउनुहुन्छ भने “बाली लगाएको छु” मा चिन्ह लगाउनुहोस्।
  2. २आफूले लगाएका बालीका समूह छानी बालीको नाम, क्षेत्रफल र उत्पादन परिमाण भर्नुहोस्।
  3. ३अन्त्यमा “सुरक्षित गरी अगाडि बढ्नुहोस्” मा क्लिक गर्नुहोस्।
सूचनाउत्पादन परिमाण भर्दा एकाइ (के.जी., क्विन्टल वा मेट्रिक टन) ठीक छानिएको छ कि छैन ध्यान दिनुहोस्।

फारम भर्ने विस्तृत विधि

किसानको पूरा विवरण आठ खण्डमा भरिन्छ र यही क्रममा देखिन्छ: पारिवारिक विवरण, जग्गा तथा सिँचाई, बाली उत्पादन, पशुपन्छी, व्यवसाय/आम्दानी, यन्त्र तथा संरचना, अनुदान विवरण र फोटो तथा कागजातहरू। यसभन्दा अघि आधारभूत विवरण (किसान दर्ता) भरिन्छ र अन्त्यमा अन्तिम जाँच गरी पेस गरिन्छ। यस अध्यायमा प्रत्येक खण्डको हरेक बाकसमा के लेख्ने, कुन विकल्प छान्ने र प्रणालीले कुन सीमा जाँच्छ भन्ने क्रमशः दिइएको छ।

सबै खण्डमा लागू हुने नियम: तारा (*) भएको बाकस अनिवार्य हो। नाम, टोल र उद्यमको नाम/ठेगाना देवनागरीमा लेख्नुपर्छ; अङ्ग्रेजी किबोर्डबाट टाइप गर्दा पनि बाकसले आफैँ देवनागरीमा बदल्छ। सङ्ख्याको बाकसमा सीमाभन्दा बढी वा नमिल्ने अङ्क लेख्नेबित्तिकै बाकस रातो हुन्छ र त्यसको तल कारण लेखिन्छ; नसच्याएसम्म खण्ड सुरक्षित हुँदैन।

क्षेत्रफल तीन बाकसमा लेखिन्छ: रोपनी-आना-पैसा (१ रोपनी = १६ आना, १ आना = ४ पैसा) वा बिघा-कट्ठा-धुर (१ बिघा = २० कट्ठा, १ कट्ठा = २० धुर)। त्यसैले आना ० देखि १५, पैसा ० देखि ३, कट्ठा र धुर ० देखि १९ सम्म मात्र मिल्छ। जस्तै ५ रोपनी ४ आना २ पैसा भए ५ | ४ | २ लेख्नुहोस्। बाली र पशुपन्छी खण्डको क्षेत्रफलको एकाइ जग्गा खण्डको पहिलो कित्ताको एकाइबाट आफैँ लिइन्छ।

खण्डको अन्त्यमा “सुरक्षित गरी अगाडि बढ्नुहोस्” थिच्दा विवरण सुरक्षित भई अर्को खण्ड खुल्छ। एउटै खण्डमा धेरै पङ्क्ति चाहिए “थप्नुहोस्” ले नयाँ पङ्क्ति थप्छ, “हटाउनुहोस्” ले हटाउँछ (विवरण भरिएको पङ्क्ति हटाउनुअघि प्रणालीले सोध्छ)। कुनै समूहको चिन्ह हटाउँदा त्यसको खण्ड लुक्छ र त्यसका बाकस सुरक्षित हुँदैनन्।

सूचनावर्गीकृत भइसकेको (परिचय पत्र जारी भएको) किसानको विवरण बदल्दा “परिवर्तनको कारण” अनिवार्य लेख्नुपर्छ। नाम, ठेगाना जस्ता विवरण तुरुन्तै लागू हुन्छ; जग्गा, आम्दानी वा पशुपन्छीको परिवर्तन केन्द्रको स्वीकृतिपछि मात्र लागू हुन्छ।

क. पारिवारिक विवरण

परिवारमा भएका जम्मा पुरुष र महिलाको सङ्ख्या, तीमध्ये कृषिमा संलग्न सदस्यको सङ्ख्या र ती सदस्यको विवरण भरिन्छ। किसान आफैँ पहिलो पङ्क्तिमा आफैँ देखिनुहुन्छ; त्यो पङ्क्ति यहाँ सच्याउन मिल्दैन।

कृषिमा संलग्न सङ्ख्यामा किसान आफैँ पनि गनिनुहुन्छ। त्यसैले थप्न मिल्ने सदस्य पङ्क्ति = कृषिमा संलग्न सङ्ख्या − १। जस्तै संलग्न ३ जना भए किसानबाहेक २ जनाको विवरण थप्नुहोस्।

पारिवारिक विवरण
चित्र क: पारिवारिक विवरण
  1. १“पुरुष” र “महिला” मा परिवारका सबै सदस्यको सङ्ख्या लेख्नुहोस् (किसानसहित)।
  2. २“कृषिमा संलग्न सदस्य संख्या” मा किसानसहित कृषिमा लाग्ने जम्मा सङ्ख्या लेख्नुहोस्। यो पुरुष र महिलाको जोडभन्दा बढी हुन सक्दैन।
  3. ३“सदस्य थप्नुहोस्” थिची हरेक सदस्यको नाता, नाम, उमेर, लिङ्ग, फोन र कृषि गतिविधि भर्नुहोस्। नाता छान्दा लिङ्ग आफैँ छानिन्छ। सीमा पुगेपछि बटन आफैँ बन्द हुन्छ।
  4. ४“कृषि पेशामा संलग्न अवधि (वर्ष)” छान्नुहोस् र सुरक्षित गर्नुहोस्।
पारिवारिक विवरणका बाकस
बाकसके भर्नेनियम / सीमा
पुरुष *, महिला *परिवारका सदस्यको सङ्ख्या० देखि ९९
कृषिमा संलग्न सदस्य संख्याकिसानसहित० देखि ९९; पुरुष + महिलाभन्दा बढी हुँदैन
नाताआफै, बुवा, आमा, छोरा, छोरी, पति, पत्नी, बुहारी आदि २६ विकल्पपङ्क्ति थपेपछि अनिवार्य
नामसदस्यको नामदेवनागरी मात्र; पङ्क्ति थपेपछि अनिवार्य
उमेरवर्षमा० देखि १२०
लिङ्गपुरुष, महिला, अन्य
फोनभए मात्र९८/९७/९६ बाट सुरु हुने १० अङ्क
नागरिकता/अन्यनागरिकता वा अन्य परिचयऐच्छिक
कृषि गतिविधि *उत्पादन, प्रशोधन, बजारीकरण, कृषि उद्यम, कृषि श्रमिकहरेक सदस्यको अनिवार्य
कृषि पेशामा संलग्न अवधि (वर्ष) *१ देखि २०, वा २० भन्दा माथिछान्नै पर्छ
ध्यान दिनुहोस्कृषिमा संलग्न सङ्ख्या १ भन्दा बढी लेखेपछि कम्तीमा एक जना सदस्यको विवरण थप्नुपर्छ। सङ्ख्याभन्दा बढी सदस्य थपिएका पुराना अभिलेखलाई प्रमाणीकरणमा “कृषिमा संलग्न संख्याभन्दा बढी सदस्य विवरण” भनी देखाइन्छ।

ख. जग्गा तथा सिँचाई

किसानले खेती गर्ने हरेक जग्गाको कित्ता वा टुक्राको छुट्टै कार्ड भरिन्छ: आफ्नो, परिवारको नाममा, भाडा/लिजमा लिएको वा दिएको, ऐलानी/पर्ती सबै यहीँ भर्न सकिन्छ। आफ्नै नाममा जग्गा नभए पनि भाडामा लिएर खेती गर्नुहुन्छ भने “जग्गा छैन” होइन, “छ” छानी स्वामित्वमा “भाडामा लिएको” छान्नुहोस्।

पहिलो कित्ताको क्षेत्रफलको एकाइ (रोपनी वा बिघा) नै बाली र पशुपन्छी खण्डको एकाइ बन्छ, त्यसैले मुख्य जग्गा पहिले भर्नुहोस्। ऐलानी/पर्ती जग्गाको विवरण तथ्याङ्कका लागि मात्र हो, कानुनी प्रयोजनमा मान्य हुँदैन।

जग्गा तथा सिँचाई
चित्र ख: जग्गा तथा सिँचाई
  1. १“जग्गा छ कि छैन?” मा “छ” छान्नुहोस्। “छैन” छान्दा प्रणालीले फेरि सोध्छ; कुनै पनि जग्गामा खेती नगर्ने भए मात्र “जग्गा छैन” थिच्नुहोस्।
  2. २स्वामित्व छान्नुहोस्। भाडामा लिएको वा दिएको छान्दा तल “भाडा/लिज सम्झौता” खुल्छ; अर्को पक्षको नाम र सम्झौताको प्रकार अनिवार्य भर्नुहोस्। त्यसपछि किसिम (खेत वा पाखो/बारी) र प्रयोग छान्नुहोस्।
  3. ३वर्गीकरणमा मालपोत अभिलेख अनुसार “कृषि” वा “गैर-कृषि” छान्नुहोस्। कम्तीमा एउटा कित्ता कृषि नभएसम्म विवरण केन्द्रमा सिफारिस गर्न मिल्दैन।
  4. ४एकाइ (रोपनी-आना-पैसा, बिघा-कट्ठा-धुर वा वर्ग मिटर) छानी क्षेत्रफल लेख्नुहोस्।
  5. ५सिँचाई पुग्छ भने “सिँचित क्षेत्र छ” मा चिन्ह लगाई सिँचित क्षेत्रफल, सिँचाई सुविधा र स्रोत छान्नुहोस्।
  6. ६अर्को कित्ता वा टुक्रा भए “जग्गा थप्नुहोस्” थिची त्यसको पनि छुट्टै कार्ड भर्नुहोस्।
  7. ७अर्को स्थानीय तहमा पनि खेती गर्नुहुन्छ भने चिन्ह लगाई तल ठेगाना र क्षेत्रफल भरी “स्थान थप्नुहोस्” थिच्नुहोस्। यो आफैँ सुरक्षित हुन्छ।
जग्गाको हरेक कार्डका बाकस
बाकसके भर्नेनियम / सीमा
स्वामित्वआफ्नो, परिवारको नाममा, ऐलानी/पर्ती, भाडामा लिएको, भाडामा दिएकोविवरण भरिएको कार्डमा अनिवार्य
किसिमखेत (धान फल्ने समतल) वा पाखो/बारीऐच्छिक
प्रयोगबाँझो, कृषि वन, कृषि, पशुपन्छी/मत्स्यपालन, कृषि उद्योग, मिश्रितऐच्छिक
वर्गीकरणमालपोत अभिलेख अनुसार कृषि वा गैर-कृषिकेन्द्रमा सिफारिसका लागि कम्तीमा एउटा कृषि चाहिन्छ
एकाइरोपनी-आना-पैसा, बिघा-कट्ठा-धुर, वर्ग मिटरपहाडमा प्रायः रोपनी, तराईमा बिघा
क्षेत्रफलतीन बाकस (वर्ग मिटरमा एउटै)आना ०–१५, पैसा ०–३, कट्ठा ०–१९, धुर ०–१९; शून्य क्षेत्रफल मिल्दैन
सिँचित क्षेत्र छसिँचाई पुग्छ भने चिन्हचिन्ह नभए सिँचाई नभएको मानिन्छ
सिँचित क्षेत्रफलपानी पुग्ने भागमाथिको क्षेत्रफलभन्दा बढी हुन हुँदैन
सिँचाई सुविधाबर्षैभरि सिँचाइ सुविधा भएको वा नभएको
सिँचाईको स्रोतकुलो, नहर, पोखरी, भूमिगत, लिफ्ट, पम्प, सौर्य आदि; एकभन्दा बढी छान्न मिल्छ“अन्य” छान्दा स्रोतको नाम अनिवार्य
सम्झौताको अर्को पक्ष *भाडामा लिएको/दिएको जग्गामा, जग्गा दिने वा लिनेको नामभाडाको जग्गामा अनिवार्य
सम्झौता *करार, भाडा, ठेक्का, बन्धकी, अधियाँभाडाको जग्गामा अनिवार्य
अन्य स्थानमा खेतीप्रदेश, जिल्ला, स्थानीय तह, वडा, क्षेत्रफल, सिँचाईचिन्ह लगाएपछि कम्तीमा एउटा स्थान थप्नुपर्छ
ध्यान दिनुहोस्क्षेत्रफल शून्य भएको कित्ता विवरण अघि बढाउन रोकिने त्रुटि हो। “जग्गा छ” भनेर कुनै कार्ड नभरेमा पनि पेस गर्न मिल्दैन।

ग. बाली उत्पादन

किसानले लगाउने हरेक बालीको नाम, क्षेत्रफल र वार्षिक उत्पादन भरिन्छ। पहिले कुन कुन समूहका बाली लगाउनुहुन्छ भनी चिन्ह लगाउनुहोस्; चिन्ह लगाएको समूहको मात्र खण्ड खुल्छ र त्यसैमा बाली थपिन्छ।

केही समूहमा थप बाकस आउँछन्: फलफूलमा बोट सङ्ख्या; चियामा श्रोत र सी.टी.सी., अर्थोडक्स, हर्बल र अन्यको उत्पादन (के.जी.); च्याउमा टनेल सङ्ख्या र प्लाष्टिक घरको क्षेत्रफल; मौरीमा घार सङ्ख्या र उत्पादनको प्रकार; रेशममा किरा सङ्ख्या। बीउ/बेर्ना नर्सरीमा प्रकार (बीउ वा बेर्ना), बाली, बालीको नाम र किसिम (स्थानीय वा उन्नत) क्रमैसँग छानिन्छ।

बाली उत्पादन
चित्र ग: बाली उत्पादन
  1. १“बाली लगाएको छु” छान्नुहोस्। बाली नलगाउने भए “बाली लगाएको छैन” छानी सुरक्षित गर्नुहोस्।
  2. २खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, मसला, औद्योगिक, च्याउ, मौरी, रेशम, पुष्प खेती, बीउ/बेर्ना नर्सरी र अन्य बालीमध्ये लगाउने समूहमा चिन्ह लगाउनुहोस्।
  3. ३खुलेको समूहमा बालीको नाम छान्नुहोस्। तरकारीको सूची लामो भएकाले नाम टाइप गरेर खोज्न मिल्छ। सूचीमा नभए “अन्य” छानी नाम लेख्नुहोस्।
  4. ४क्षेत्रफल लेख्नुहोस्। एकाइ जग्गा खण्डको पहिलो कित्ताबाट आफैँ आउँछ।
  5. ५वार्षिक उत्पादन परिमाण लेखी एकाइ (के.जी., क्विन्टल वा मेट्रिक टन) छान्नुहोस्।
  6. ६सोही समूहको अर्को बाली भए समूहको “थप्नुहोस्” थिच्नुहोस्।
बालीको हरेक पङ्क्तिका बाकस
बाकसके भर्नेनियम / सीमा
बालीको नामसमूहको सूचीबाट (च्याउ/मौरी/रेशमको जात, पुष्पको नाम)अनिवार्य; “अन्य” छान्दा नाम लेख्नुपर्छ
बोट सङ्ख्या (फलफूल)फलेका वा लगाएका बोट० वा बढी, पूर्ण अङ्क
क्षेत्रफलतीन बाकसरेशममा “किम्बु लगाइएको क्षेत्रफल”; च्याउ र मौरीमा हुँदैन
उत्पादन परिमाणवार्षिक उत्पादनएकाइ के.जी. (पूर्वनिर्धारित), क्विन्टल वा मेट्रिक टन; अन्य बालीमा संख्या पनि
श्रोत र चार उत्पादन (चिया)बगान वा अन्य; सी.टी.सी., अर्थोडक्स, हर्बल, अन्य के.जी.माजम्मा उत्पादन यी चारको जोड
जात (कफी)अरेविका वा रोवस्टाऐच्छिक
टनेल सङ्ख्या, प्लाष्टिक घर क्षेत्रफल (च्याउ)क्षेत्रफल वर्ग मिटर वा गोलामापूर्ण अङ्क
घार सङ्ख्या, उत्पादनको प्रकार (मौरी)मह, घार, गोला, रोयल जेली, प्रोपेलिस, भेनोम, मैन, अन्यमह/मैन आदि के.जी.मा, घार/गोला सङ्ख्यामा
किरा संख्या (रेशम)किराको बाकस सङ्ख्यापूर्ण अङ्क
उत्पादनको बढीमा सीमाप्रणालीले के.जी.मा बदलेर जाँच्छतरकारी/औद्योगिक १,००० मे.ट.; खाद्यान्न २०० मे.ट.; फलफूल/कफी/च्याउ/चिया १०० मे.ट.; दलहन/तेलहन/मसला/बीउ/अन्य ५० मे.ट.; पुष्प २० मे.ट.; मौरी (के.जी.मा) ५,००० के.जी.
ध्यान दिनुहोस्“बाली लगाएको छु” छानेर कुनै बाली नथपेमा वा कुनै समूहमा चिन्ह लगाएर बाली नभरेमा खण्ड सुरक्षित हुँदैन। उत्पादन सीमाभन्दा बढी लेखे बाकस रातो हुन्छ; एकाइ (के.जी. कि मेट्रिक टन) ठीक छानिएको छ कि जाँच्नुहोस्।

घ. पशुपन्छी

किसानले पालेका पशु, पन्छी, माछा र घाँसेबालीको विवरण भरिन्छ। पहिले पाल्ने प्रकारमा चिन्ह लगाउनुहोस्; हरेक प्रकारको छुट्टै खण्ड खुल्छ र जात अनुसार पङ्क्ति थपिन्छ।

बाख्रा, भेँडा र बंगुरमा एउटै सङ्ख्याको सट्टा भूमिका अनुसार गनिन्छ (जस्तै बाख्रामा माउ, खसी, बोका, पाठा/पाठी) र जम्मा आफैँ जोडिन्छ। गाई र भैंसीमा सङ्ख्यासँगै दुध दिने महिना र दैनिक दुध; कुखुरा र अन्य पन्छीमा वार्षिक अण्डा र बिक्री सङ्ख्या; माछामा पोखरीको क्षेत्रफल, पोखरी सङ्ख्या, प्रयोजन र उत्पादन; घाँसेबालीमा घाँसको किसिम, जात, क्षेत्रफल, हरियो घाँस (मे.ट.) र बीउ (के.जी.) भरिन्छ।

पशुपन्छी
चित्र घ: पशुपन्छी
  1. १“पशुपन्छी पालेको छु” छान्नुहोस्। नपाल्ने भए “पालेको छैन” छानी सुरक्षित गर्नुहोस्।
  2. २गाई, भैंसी, भेँडा, बाख्रा, बंगुर, कुखुरा, अन्य पन्छी, माछा, घाँसे बाली वा अन्य पशुमध्ये पालेकोमा चिन्ह लगाउनुहोस्।
  3. ३हरेक खण्डमा जात/नश्ल छान्नुहोस्। एउटै प्रकारका दुई जात भए “थप्नुहोस्” बाट अर्को पङ्क्ति थप्नुहोस्।
  4. ४सङ्ख्या लेख्नुहोस्। बाख्रा, भेँडा र बंगुरमा भूमिका अनुसारका बाकसमा लेख्नुहोस्।
  5. ५गाई र भैंसीमा वर्षमा औसत कति महिना दुध दिन्छ (० देखि १२) र दैनिक कति लिटर दुध हुन्छ लेख्नुहोस्।
  6. ६कुखुरा र पन्छीमा वार्षिक अण्डा र बिक्रीका लागि उत्पादन सङ्ख्या लेख्नुहोस्। ब्रोइलरमा अण्डाको बाकस आउँदैन।
पशुपन्छीका बाकस र सीमा
बाकसके भर्नेनियम / सीमा
जात/नश्लगाई: स्थानीय, उन्नत, चौरी, याक/नाक; भैंसी: स्थानीय, उन्नत; बाख्रा: स्थानीय, उन्नत, च्याङ्ग्रा; बंगुर: स्थानीय, उन्नत, बँदेल; कुखुरा: स्थानीय, लेयर्स, ब्रोइलर, प्यारेन्ट, अन्य“अन्य” छान्दा नाम अनिवार्य
सङ्ख्यापालेको जम्माकुखुरा बढीमा १,००,०००; गाई, भैंसी, बाख्रा, भेँडा, बंगुर, अन्य पन्छी बढीमा १,०००
माउ, खसी, बोका, पाठा/पाठी (बाख्रा)भूमिका अनुसारजम्मा पनि १,००० भित्र
माऊ, थुमा, पाठापाठी (भेँडा); माउ, भाले, पाठा/पाठी (बंगुर)भूमिका अनुसारजम्मा १,००० भित्र
वार्षिक औसत दुध दिने महिनागाई/भैंसी० देखि १२
दैनिक दुध उत्पादन (लि.)सबै गाई वा भैंसीको जम्माप्रति गोटा बढीमा ५० लि. (चौरी/याक १० लि.) × सङ्ख्या
वार्षिक औसत अण्डा उत्पादनकुखुरा/पन्छीप्रति गोटा बढीमा ३५० × सङ्ख्या
जात/प्रजाती (माछा)रोहु, नैनी, भाकुर, सिल्भर कार्प, ग्रास कार्प, कमन कार्प, ट्राउट, टिलापिया आदि; धेरै छान्न मिल्छ
पोखरीको क्षेत्रफल, सङ्ख्या (माछा)पोखरीको जम्मा क्षेत्रफल र पोखरी सङ्ख्याप्रति पोखरी बढीमा ५ हेक्टर
उत्पादन प्रयोजन, एकाइ, परिमाण (माछा)मासु, जिउँदो बिक्री वा भुरा; के.जी., संख्या, क्विन्टल, मे.ट.प्रति हेक्टर बढीमा ३०,००० माछा (तौलमा औसत २.५ के.जी. प्रति माछा)
घाँसको किसिम, जात (घाँसे बाली)हिउँदे, वर्षे, वहुवर्षे, डालेघाँस, नर्सरी, हे, साइलेज, अन्यसूचीमा नभए जात लेख्नुहोस्
हरियो घाँस उत्पादन (मे. टन), बीउ उत्पादन (के.जी.)घाँसे बालीको वार्षिक उत्पादन० वा बढी
प्रकार (अन्य पशु)घोडा, खच्चड, गधा, खरायो, कुकुर, बिरालो, अन्यअनिवार्य
ध्यान दिनुहोस्सङ्ख्या शून्य राखेर पशुपन्छीको पङ्क्ति नछोड्नुहोस्। नपालेको प्रकार भए त्यसको चिन्ह नै हटाउनुहोस्। शून्य सङ्ख्याको पङ्क्तिलाई प्रमाणीकरणमा त्रुटि भनी देखाइन्छ।

ङ. व्यवसाय/आम्दानी

यस खण्डमा किसानको दर्ता भएको कृषि फर्म वा उद्यम, सहकारी/समूहको सदस्यता र वार्षिक आम्दानी भरिन्छ। फर्म वा उद्यम नभए त्यसका बाकस खाली छोड्नुहोस्।

व्यवसाय/आम्दानी
चित्र ङ: व्यवसाय/आम्दानी
  1. १फर्म वा उद्यम दर्ता छ भने त्यसको नाम र ठेगाना देवनागरीमा लेख्नुहोस्।
  2. २दर्ता नम्बर, VAT/PAN, सदस्य सङ्ख्या, दर्ता मिति, दर्ता भएको कार्यालय, किसिम, रोजगारी सङ्ख्या र अध्यक्ष वा सञ्चालकको नाम भर्नुहोस्।
  3. ३किसान सहकारी वा समूहको सदस्य हुनुहुन्छ भने चिन्ह लगाई “सहकारी थप्नुहोस्” बाट प्रकार र नाम थप्नुहोस्।
  4. ४बाली, पशुपन्छी र माछासमेतबाट वर्षभरिमा हुने आम्दानी रुपैयाँमा लेख्नुहोस्।
  5. ५कृषिबाहेकका पेशाबाट हुने आम्दानी लेख्नुहोस्। जम्मा आफैँ जोडिन्छ।
व्यवसाय/आम्दानीका बाकस
बाकसके भर्नेनियम / सीमा
व्यवसाय फर्म/उद्यमको नामदर्ता भएको नामदेवनागरी मात्र; खाली भए फर्म नभएको मानिन्छ
ठेगानाफर्मको ठेगानादेवनागरी मात्र
दर्ता नम्बरदर्ता प्रमाणपत्र अनुसार
VAT/PAN नम्बरभए मात्र९ देखि १५ अङ्क
सदस्य संख्याफर्मका सदस्य० वा बढी
दर्ता मिति (वि.सं.)पात्रोबाटभविष्यको मिति मिल्दैन
दर्ता भएको कार्यालयजस्तै घरेलु तथा साना उद्योग कार्यालयदेवनागरी मात्र
किसिमकृषि, पशुपालन, मिश्रित
वार्षिक रोजगारी सिर्जना सङ्ख्याफर्मले दिएको रोजगारी० वा बढी
अध्यक्ष वा सञ्चालकको नामदेवनागरी मात्र
सहकारी/समूह: प्रकार, नामसमूह वा सहकारी; त्यसको नाम देवनागरीमानाम नभएको पङ्क्ति सुरक्षित हुँदैन
कृषि पेशाबाट हुने (रु.)बाली, पशुपन्छी, मत्स्यसमेतको वार्षिक आम्दानी; खानाको लागि प्रयोग हुने कृषि उत्पादनलाई समेत समेट्नुपर्छ० वा बढी
गैर कृषि पेशाबाट हुने (रु.)अन्य पेशाको वार्षिक आम्दानी० वा बढी
जम्मा (रु.)आफैँ जोडिन्छलेख्न मिल्दैन
ध्यान दिनुहोस्आम्दानीका सबै बाकस शून्य राखेमा प्रमाणीकरणमा “आम्दानी/लगानी सबै शून्य” भनी देखाइन्छ। किसानसँग सोधेर अनुमानित आम्दानी भए पनि लेख्नुहोस्।

च. यन्त्र तथा संरचना

यो खण्डमा दुई ट्याब छन्: “यन्त्र” र “संरचना”। दुवै छुट्टाछुट्टै सुरक्षित गर्नुपर्छ; यन्त्र वा संरचना नभए पनि “छैन” छानी सुरक्षित गर्नुहोस्, नत्र प्रणालीले अर्को ट्याबमा फर्काउँछ।

यन्त्रमा स्वामित्व “आफ्नो” भए मात्र सङ्ख्या र क्षमता सोधिन्छ; भाडामा वा समूह/सहकारीको यन्त्रमा स्वामित्व छानेपछि पुग्छ। क्षमता नहुने यन्त्र (जस्तै मिल्किङ्ग मेशिन, ट्रली, नेट) मा क्षमताको बाकस आउँदैन।

यन्त्र तथा संरचना
चित्र च: यन्त्र तथा संरचना
यन्त्र तथा संरचना
चित्र च: यन्त्र तथा संरचना
  1. १“यन्त्र” ट्याबमा यन्त्र भए “यन्त्र छ” छान्नुहोस्।
  2. २भू-तयारी तथा रोपाइँ, सिँचाइ तथा पम्प, बाली संरक्षण/कटानी/प्रशोधन, पशुपन्छी सम्बन्धी, मत्स्य सम्बन्धी वा ढुवानी तथा अन्यमध्ये समूहमा चिन्ह लगाउनुहोस्।
  3. ३यन्त्रको नाम छान्नुहोस् (सूचीमा नभए “अन्य” छानी नाम लेख्नुहोस्) र स्वामित्व: आफ्नो, भाडामा, समूह वा सहकारी।
  4. ४आफ्नो यन्त्र भए सङ्ख्या, क्षमताको एकाइ (अश्वशक्ति, सीसी, किलोवाट, लिटर) र क्षमता लेखी सुरक्षित गर्नुहोस्।
  5. ५“संरचना” ट्याब खोली संरचना भए “संरचना छ” छान्नुहोस् र समूहमा चिन्ह लगाउनुहोस्।
  6. ६संरचनाको प्रकार छान्नुहोस्। प्लास्टिक घर / नेट हाउस छान्दा त्यसको प्रकार पनि छान्नुपर्छ।
  7. ७सङ्ख्या, क्षेत्रफल र एकाइ (वर्ग मिटर वा वर्ग फिट) लेखी सुरक्षित गर्नुहोस्।
यन्त्र तथा संरचनाका बाकस र सीमा
बाकसके भर्नेनियम / सीमा
यन्त्रको नामसमूहको सूचीबाट, जस्तै मिनी टिलर, पावर टिलर, ट्र्याक्टर, पम्पसेट, स्प्रेयर“अन्य” छान्दा नाम अनिवार्य
स्वामित्व *आफ्नो, भाडामा, समूह, सहकारीअनिवार्य
संख्या (आफ्नो यन्त्र)कति वटा१ देखि १०
क्षमता र एकाइ (आफ्नो यन्त्र)अश्वशक्ति, सीसी, किलोवाट, लिटरबढीमा ५०० अश्वशक्ति, ५,००० सीसी, ३७० किलोवाट, १०,००० लिटर
संरचनाको प्रकारसेड हाउस, भण्डार घर, प्लास्टिक घर/नेट हाउस, गोठ, खोर, बायोग्यास, पोखरी, ट्याङ्की आदिप्लास्टिक घर/नेट हाउसमा उप-प्रकार पनि अनिवार्य
संख्या (संरचना)कति वटा१ देखि ५० (सेड हाउस र गोठमा १००)
क्षेत्रफल र एकाइ (संरचना)एउटै बाकसमावर्ग मिटर वा वर्ग फिट; अनिवार्य

छ. अनुदान विवरण

किसानले कुनै निकायबाट पाएको भनी बताएको अनुदान यहाँ भरिन्छ। कार्यालयले प्रमाणित गरेको संस्थागत अनुदान अलग्गै अभिलेख हुन्छ, यहाँ सच्याइँदैन।

अनुदानको प्रकार छानेपछि मात्र विस्तृत विवरणको सूची आउँछ, र विस्तृत विवरण अनुसार परिमाणको बाकसको नाम र एकाइ आफैँ मिलिन्छ: बीउबिजन र मलमा परिमाण (के.जी.), सिंचाईमा क्षेत्रफल, बीमामा रकम, बाँकीमा सङ्ख्या।

अनुदान विवरण
चित्र छ: अनुदान विवरण
  1. १“अनुदान पाएको छु” छान्नुहोस्। नपाएको भए “पाएको छैन” छानी सुरक्षित गर्नुहोस्।
  2. २अनुदानको प्रकार (कृषि, पशुपन्छी पालन वा अन्य) र विस्तृत विवरण छान्नुहोस्। बीउ, यन्त्र वा संरचना भए त्यसको नाम पनि छान्न सकिन्छ।
  3. ३पाएको परिमाण वा सङ्ख्या लेख्नुहोस्; एकाइ प्रायः आफैँ छानिन्छ।
  4. ४अनुदानबापत पाएको रकम र अनुदान प्रतिशत (० देखि १००) लेख्नुहोस्।
  5. ५अनुदान दिने निकाय (स्थानीय तह, प्रदेश, संघीय वा आयोजना), कार्यालय र अनुदान पाएको साल छान्नुहोस्।
अनुदानको हरेक पङ्क्तिका बाकस
बाकसके भर्नेनियम / सीमा
अनुदानको प्रकारकृषि, पशुपन्छी पालन, अन्यअनिवार्य
विस्तृत विवरणकृषि: बीउबिजन/बेर्ना, मल, यन्त्र तथा उपकरण, संरचना, अन्य; पशुपन्छी: गाई, भैंसी, बाख्रा/भेडा, बंगुर, कुखुरा, माछापालन, यन्त्र, संरचना आदि; अन्य: सिंचाई, बीमा, कृषि मिटरअनिवार्य; “अन्य” भए के हो लेख्नुपर्छ
परिमाण/संख्या/क्षेत्रफल/रकमविस्तृत विवरण अनुसारअङ्कमा
एकाइके.जी., संख्या, रोपनी, बिघा, कठ्ठा, वर्ग मिटर, रुपैयाँएउटै एकाइ हुनेमा आफैँ छानिन्छ
अनुदानित रकम (रु.)अनुदानबापतको रकमबढीमा रु. १ करोड
अनुदान %कति प्रतिशत अनुदान० देखि १००
अनुदान दिने निकाय *स्थानीय तह, प्रदेश, संघीय, आयोजनाअनिवार्य
कार्यालयको प्रकार, प्रदायक कार्यालयनिकाय अनुसारको सूची; स्थानीय तहमा प्रदेश, जिल्ला र पालिकासूचीमा नभए “अन्य” छानी नाम लेख्नुहोस्
अनुदान पाएको साल (वि.सं.)सूचीबाट२०५० देखि चालु साल
कैफियतथप कुरा भएऐच्छिक

ज. फोटो तथा कागजातहरू

किसानको फोटो र नागरिकता, लालपुर्जा जस्ता कागजातको फोटो वा PDF यहाँ अपलोड गरिन्छ। फाइल छान्नेबित्तिकै अपलोड हुन्छ; तस्बिर आफैँ सानो बनाइन्छ र त्यसभित्रको स्थान (GPS) जस्ता विवरण हटाइन्छ।

मोबाइलबाट प्रयोग गर्दा “फोटो खिच्नुहोस्” बटनले सिधै क्यामेरा खोल्छ। कागजातको फोटो उज्यालोमा, पूरै पाना देखिने गरी खिच्नुहोस्।

फोटो तथा कागजातहरू
चित्र ज: फोटो तथा कागजातहरू
  1. १किसानको फोटो छान्नुहोस्। फोटोमाथि वर्गाकार बाकस देखिन्छ; अनुहार बीचमा पर्ने गरी मिलाई “अपलोड गर्नुहोस्” थिच्नुहोस्। नयाँ फोटोले पुरानो फोटो बदल्छ।
  2. २नागरिकता (अगाडि र पछाडि), जग्गाधनी प्रमाणपुर्जा, भाडा/करार सम्झौता, फर्म दर्ता प्रमाणपत्र वा अन्य कागजातमध्ये चाहिएकोमा चिन्ह लगाई फाइल छान्नुहोस्। एकपटकमा धेरै फाइल छान्न मिल्छ।
  3. ३“सबमिसन गर्नुहोस्” थिची अन्तिम जाँचमा जानुहोस्।
फाइलका नियम
बाकसके भर्नेनियम / सीमा
किसानको फोटोJPG, PNG वा WebPएउटा मात्र; नयाँले पुरानो बदल्छ
कागजातJPG, PNG, WebP वा PDFप्रति फाइल बढीमा ५ एम.बी.
उही फाइल दोहोर्‍याएरपहिले नै अपलोड भएको ठ्याक्कै उही फाइलमिल्दैन: “यो फाइल पहिले नै अपलोड भइसकेको छ।”
कागजात हटाउनेकागजातको रातो बटनहटाउनुअघि प्रणालीले सोध्छ; बदल्न हटाएर फेरि अपलोड गर्नुहोस्
सूचनाआफ्नो जग्गा भएको किसानको लालपुर्जा अपलोड नभए प्रमाणीकरणमा सूचना देखिन्छ। कागजात नभए पनि विवरण पेस गर्न रोकिँदैन।