नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली
नेपाल सरकारको निशान छाप
नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय
कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्र

पालिका (स्थानीय तह) प्रयोगकर्ता निर्देशिका

किसान सूचीकरण प्रणाली
प्रयोगकर्ता: स्थानीय तहको कृषि शाखा तथा सूचीकरण हेर्ने कर्मचारी

यो निर्देशिका स्थानीय तह (पालिका) का लागि तयार पारिएको हो। किसान सूचीकरण प्रणालीमा पालिकाको भूमिका सबैभन्दा ठूलो हुन्छ। गणक/सहजकर्ताले पेस गरेको विवरण वडामा पठाउने, वडाबाट प्रमाणित भएर आएको विवरण जाँची केन्द्रमा सिफारिस गर्ने, र केन्द्रबाट वर्गीकरण भएपछि किसान परिचय पत्र छापी किसानलाई हस्तान्तरण गर्ने जिम्मेवारी पालिकाकै हो।

निर्देशिकाका प्रत्येक चित्रमा रातो गोलाकार अंक (१, २, ३ …) राखिएको छ। चित्रमुनिको विवरणमा सोही अंकले कुन ठाउँमा के गर्ने भन्ने बताउँछ।

विषयसूची

१. प्रणालीमा प्रवेश (लग-इन)

प्रणालीमा प्रवेश गर्न पालिकालाई तोकिएको प्रयोगकर्ता नाम र पासवर्ड आवश्यक पर्दछ। पासवर्ड बिर्सनुभएको वा खाता बन्द भएको अवस्थामा सम्बन्धित स्थानीय तह वा कृषि कार्यालयमा सम्पर्क गर्नुहोस्।

प्रणालीमा प्रवेश (लग-इन)
चित्र १: प्रणालीमा प्रवेश (लग-इन)
  1. १“मोबाइल नम्बर / इमेल आईडी” बाकसमा आफ्नो इमेल ठेगाना लेख्नुहोस् (उदाहरण: palika@manual.demo)।
  2. २“पासवर्ड” बाकसमा आफ्नो पासवर्ड लेख्नुहोस्। लेखेको पासवर्ड हेर्न बाकसको दायाँपट्टिको आँखा चिन्हमा क्लिक गर्नुहोस्।
  3. ३“लग-इन गर्नुहोस्” बटनमा क्लिक गर्नुहोस्।
ध्यान दिनुहोस्आफ्नो पासवर्ड कसैलाई नबताउनुहोस्। सार्वजनिक कम्प्युटरबाट प्रयोग गर्नुभएको छ भने काम सकिएपछि अनिवार्य रूपमा लग-आउट गर्नुहोस्।

२. ड्यासबोर्ड · कामको अवस्था एकै नजरमा

लग-इन गरेपछि सबैभन्दा पहिले ड्यासबोर्ड देखिन्छ। यसमा तपाईंको पालिकाका किसानहरू सूचीकरण प्रक्रियाको कुन-कुन चरणमा छन् भन्ने देखाइएको हुन्छ। बायाँपट्टिको मेनुबाट कुनै पनि चरणको सूचीमा सोझै पुग्न सकिन्छ।

प्रत्येक मेनुको दायाँपट्टि देखिने अंकले सो चरणमा कति किसान पर्खिरहेका छन् भन्ने जनाउँछ। अंक शून्य भएमा त्यस चरणमा हाल गर्नुपर्ने कुनै काम छैन भन्ने बुझिन्छ।

ड्यासबोर्ड · कामको अवस्था एकै नजरमा
चित्र २: ड्यासबोर्ड · कामको अवस्था एकै नजरमा
  1. १वडामा पठाउन बाँकी: गणक/सहजकर्ताले पेस गरेको तर तपाईंले अझै वडामा नपठाएको विवरण। यो तपाईंको पहिलो काम हो।
  2. २वडामा प्रमाणीकरण बाँकी: तपाईंले वडामा पठाइसक्नुभएको र वडा समितिको निर्णय पर्खिरहेको विवरण।
  3. ३केन्द्रमा वर्गीकरण गर्न पठाउन बाँकी: वडाले प्रमाणित गरेर फिर्ता पठाएको, अब तपाईंले केन्द्रमा सिफारिस गर्नुपर्ने विवरण।
  4. ४केन्द्रमा वर्गीकरण बाँकी: केन्द्रमा पुगिसकेको, अनुसूची-५ अनुसार वर्ग तोक्न बाँकी रहेको विवरण।
  5. ५वर्गीकृत किसान: वर्ग तोकिइसकेका किसान। यिनैको परिचय पत्र छापिन्छ।
  6. ६किसानको विवरण: पालिकाभित्रका सबै किसानको खोजयोग्य सूची।
  7. ७किसान अद्यावधिक अनुरोध: परिचय पत्र जारी भइसकेपछि विवरण सच्याउन आएका अनुरोधहरू।

३. चरण १ · विवरण वडामा पठाउनुहोस्

गणक/सहजकर्ताले पेस गरेको विवरण सिधै वडामा पुग्दैन; पालिकाले जाँची वडामा पठाउनुपर्दछ। एकैपटक धेरै किसान छानेर पठाउन सकिने हुनाले यो काम छिटो सकिन्छ।

चरण १ · विवरण वडामा पठाउनुहोस्
चित्र ३: चरण १ · विवरण वडामा पठाउनुहोस्
  1. १आवश्यक परेमा “सबै वडा” बाट कुनै एक वडा छानी सूचीलाई साँघुरो पार्नुहोस्।
  2. २सूचीका सबै किसान एकैपटक छान्न शीर्षकको “छान्नुहोस्” मा क्लिक गर्नुहोस्।
  3. ३वा प्रत्येक किसानको पङ्क्तिमा रहेको सानो बाकसमा छुट्टाछुट्टै चिन्ह लगाउनुहोस्।
  4. ४“कार्य छान्नुहोस्…” बाट वडामा पठाउने कार्य छान्नुहोस्।
  5. ५“पठाउनुहोस्” बटनमा क्लिक गर्नुहोस्। पठाइएका किसान यस सूचीबाट हटी “वडामा प्रमाणीकरण बाँकी” मा देखा पर्नेछन्।
सूचनाकुनै किसानको विवरण अपूर्ण देखिएमा पठाउनुअघि “हेर्नुहोस्” बटनबाट विवरण खोली आवश्यक सच्याइ गर्न सकिन्छ।

४. चरण २ · केन्द्रमा पठाउनुअघि विवरण जाँच्नुहोस्

वडा समितिले प्रमाणीकरण गरेपछि विवरण पुनः पालिकामा आउँछ। कार्यपालिकाको तर्फबाट जाँची केन्द्रमा सिफारिस गर्ने अन्तिम स्थानीय निर्णय यही हो।

“केन्द्रमा वर्गीकरण गर्न पठाउन बाँकी” सूचीबाट किसान छानी विवरण खोल्नुहोस्। व्यक्तिगत विवरण, जग्गा, बाली र पशुपन्छी सबै खण्ड जाँच्नुहोस्। सिफारिस गरिसकेपछि विवरण स्थानीय तहबाट सच्याउन मिल्दैन, त्यसैले पठाउनुअघि राम्ररी जाँच्नुहोस्।

केन्द्रमा सिफारिस यो पृष्ठबाट एक-एक गरी होइन, सूचीबाट सिफारिस पत्रसहित एकैसाथ गरिन्छ (चरण ३)। यो पृष्ठमा जाँच्ने, र मिलेन भने वडामा फिर्ता पठाउने मात्र काम हुन्छ।

चरण २ · केन्द्रमा पठाउनुअघि विवरण जाँच्नुहोस्
चित्र ४: चरण २ · केन्द्रमा पठाउनुअघि विवरण जाँच्नुहोस्
  1. १विवरण ठीक भएमा यहाँबाट होइन, “सूचीमा जानुहोस्” बाट सूचीमा फर्की अरू किसानसँगै केन्द्रमा सिफारिस गर्नुहोस् (चरण ३)।
  2. २सच्याउनुपर्ने भएमा “वडामा फिर्ता” मा क्लिक गरी कारणसहित वडामा फिर्ता पठाउनुहोस्।
ध्यान दिनुहोस्“तथ्याङ्क त्रुटि” शीर्षकमा देखिएका कुरा विवरण आफैंभित्र नमिलेका कुरा हुन् (जस्तै: जग्गा छ भनिएको तर जग्गाको विवरण नभएको)। केन्द्रमा सिफारिस गर्नुअघि यी त्रुटि सच्याउनु राम्रो हुन्छ।

५. चरण ३ · धेरै किसान एकैपटक केन्द्रमा पठाउनुहोस्

एक-एक गरी निर्णय गर्नुको साटो “केन्द्रमा वर्गीकरण गर्न पठाउन बाँकी” सूचीबाट धेरै किसान एकैपटक छानी केन्द्रमा पठाउन सकिन्छ। तरिका वडामा पठाउँदाकै जस्तै हो; फरक यत्ति हो कि यहाँ कार्यमा “केन्द्रमा सिफारिस” छान्नुपर्दछ।

पठाउनुअघि “सिफारिस पत्र” बटनबाट छानिएका किसानको नामावलीसहितको सिफारिस पत्र निकाल्न सकिन्छ। पत्र निकाल्नेबित्तिकै दर्ता र चलानी नम्बर सिर्जना भई “पठाइएका सिफारिस पत्र” मा अभिलेख हुन्छ, त्यसैले पत्र निकाल्नु नै पठाउनु सरह हो।

चरण ३ · धेरै किसान एकैपटक केन्द्रमा पठाउनुहोस्
चित्र ५: चरण ३ · धेरै किसान एकैपटक केन्द्रमा पठाउनुहोस्
  1. १सूचीबाट पठाउनुपर्ने किसान छान्नुहोस्। सबै छान्न शीर्षकको “छान्नुहोस्” मा क्लिक गर्नुहोस्।
  2. २“कार्य छान्नुहोस्…” बाट “केन्द्रमा सिफारिस” छान्नुहोस्।
  3. ३आवश्यक परेमा “सिफारिस पत्र” बटनबाट पत्र निकाली छाप्नुहोस्।
  4. ४“पठाउनुहोस्” मा क्लिक गर्नुहोस्। पठाइएका किसान यस सूचीबाट हटी “केन्द्रमा वर्गीकरण बाँकी” मा देखा पर्नेछन्।
ध्यान दिनुहोस्“वडामा फिर्ता” छानिएको अवस्थामा सिफारिस पत्र निकाल्न मिल्दैन। फिर्ता पठाइने विवरणको सिफारिस पत्र निस्किएमा नपठाइएकै पत्रले चलानी नम्बर खान्छ, जुन पछि फिर्ता लिन मिल्दैन।

६. सिफारिस पत्र कस्तो हुन्छ

सिफारिस पत्र पालिकाको लेटरप्याडमा, केन्द्रलाई सम्बोधन गरी तयार हुन्छ। यसमा दर्ता नम्बर, चलानी नम्बर, मिति र छानिएका किसानको नामावली हुन्छ। नामावलीमा क्रम संख्या, किसानको नाम र वडा नम्बर मात्र राखिन्छ।

पत्रमा जारी गर्ने अधिकारीको डिजिटल हस्ताक्षर र कार्यालयको छाप स्वतः छापिन्छ। यी दुई “व्यक्तिगत प्रोफाइल” बाट अपलोड गरिएका हुनुपर्दछ; नभएमा पत्र खाली ठाउँसहित छापिन्छ र हातैले सही गर्नुपर्ने हुन्छ।

निकालिएका सबै पत्र बायाँ मेनुको “पठाइएका सिफारिस पत्र” मा अभिलेख रहन्छन्, त्यसैले पुरानो पत्र जहिले पनि खोली हेर्न सकिन्छ।

७. चरण ४ · किसानको विवरण सच्याउनुहोस्

किसानको जुनसुकै खण्डको विवरण पालिकाले सच्याउन सक्दछ। किसानको विवरण पृष्ठबाट सच्याउनुपर्ने खण्ड (जस्तै “जग्गा तथा सिँचाई”) खोल्नुहोस्।

सच्याउने तरिका एउटै हो, तर किसान कुन चरणमा छ भन्ने अनुसार एउटा फरक पर्दछ। परिचय पत्र जारी भइसकेको किसानको विवरण सच्याउँदा “परिवर्तनको कारण” अनिवार्य रूपमा लेख्नुपर्दछ, जुन अभिलेखमा सुरक्षित रहन्छ। परिचय पत्र जारी नभएको अवस्थामा यो बाकस देखिँदैन।

चरण ४ · किसानको विवरण सच्याउनुहोस्
चित्र ७: चरण ४ · किसानको विवरण सच्याउनुहोस्
  1. १“परिवर्तनको कारण” मा किन सच्याइएको हो सो स्पष्ट लेख्नुहोस्। यो बाकस परिचय पत्र जारी भइसकेका किसानमा मात्र देखिन्छ।
  2. २थप जग्गा वा विवरण राख्नुपरेमा “जग्गा थप्नुहोस्” जस्ता बटनबाट नयाँ पङ्क्ति थप्नुहोस्।
  3. ३अन्त्यमा “सुरक्षित गरी अगाडि बढ्नुहोस्” मा क्लिक गर्नुहोस्।
सूचनाजग्गा, आय र पशुपन्छी, यी तीन खण्डले किसानको वर्ग निर्धारण गर्दछन्। परिचय पत्र जारी भइसकेपछि यी तीन खण्ड सच्याएमा परिवर्तन सोझै लागू नभई केन्द्रको स्वीकृतिका लागि जान्छ।

८. चरण ५ · वर्गीकृत किसान र परिचय पत्र

केन्द्रले अनुसूची-५ अनुसार वर्ग तोकेपछि किसान “वर्गीकृत किसान” सूचीमा देखा पर्दछन्। यही सूचीबाट परिचय पत्र छापी किसानलाई हस्तान्तरण गर्ने र “कार्ड लिएको” भनी अभिलेख राख्ने काम हुन्छ।

सूचीमा प्रत्येक किसानको वर्ग र परिचय पत्रको अवस्था देखिन्छ। किसानले कार्ड बुझिसकेपछि सोही पङ्क्तिबाट “कार्ड लिएको” मा चिन्ह लगाउनुहोस्।

चरण ५ · वर्गीकृत किसान र परिचय पत्र
चित्र ८: चरण ५ · वर्गीकृत किसान र परिचय पत्र
  1. १बायाँ मेनुबाट “वर्गीकृत किसान” खोल्नुहोस्।
  2. २सूचीमा वर्ग तोकिइसकेका किसान देखिन्छन्। परिचय पत्र छाप्न किसानको पङ्क्तिबाट विवरण खोल्नुहोस्।

९. चरण ६ · किसान परिचय पत्र छाप्नुहोस्

परिचय पत्र दुई पाना (अगाडि र पछाडि) मा छापिन्छ। प्रत्येक पाना ६.५ × ४.५ इन्च (१६५ × ११४ मि.मि.) ल्यान्डस्केप आकारको हुन्छ, त्यसैले प्रिन्टरमा कागजको आकार ६.५ × ४.५ इन्च, दिशा ल्यान्डस्केप र दुवैतर्फ छाप्ने (duplex) सेटिङ प्रयोग गर्नुहोस्।

अगाडिको भागमा किसानको परिचय (फोटो, क्यूआर, नाम, ठेगाना, परिचयपत्र नम्बर र म्याद) हुन्छ भने पछाडिको भागमा दस्तखतको ठाउँ र नवीकरणको तालिका हुन्छ।

छाप्नुअघि किसानको नाम, ठेगाना, फोटो, परिचयपत्र नम्बर र मिति ठीक छन् भनी अनिवार्य रूपमा जाँच्नुहोस्। गलत विवरण छापिएमा पुनः जारी गर्नुपर्ने हुन्छ। छापिएपछि पछाडिको भागमा अधिकारीको दस्तखत र कार्यालयको छाप लगाउनुहोस्।

चरण ६ · किसान परिचय पत्र छाप्नुहोस्
चित्र ९: चरण ६ · किसान परिचय पत्र छाप्नुहोस्
  1. १“छाप्नुहोस्” बटनमा क्लिक गर्नुहोस्। प्रिन्ट संवादमा कागजको आकार ६.५ × ४.५ इन्च, दिशा ल्यान्डस्केप र दुवैतर्फ छाप्ने विकल्प छानिएको सुनिश्चित गर्नुहोस्।
  2. २पहेँलो सूचनामा लेखिएअनुसार सबै विवरण रुजु गर्नुहोस्।
ध्यान दिनुहोस्परिचय पत्रको पछाडिको भागमा नवीकरणको तालिका छ। नवीकरण गर्दा सोही तालिकामा मिति र दस्तखत भर्नुपर्दछ।

१०. चरण ७ · किसान अद्यावधिक अनुरोध

परिचय पत्र जारी भइसकेपछि किसानको विवरण सच्याउनुपरेमा अद्यावधिक अनुरोध गरिन्छ। वर्गमा असर नपर्ने अनुरोध तुरुन्तै लागू हुन्छ भने जग्गा, आय वा पशुपन्छीसँग सम्बन्धित अनुरोध केन्द्रको स्वीकृतिपछि मात्र लागू हुन्छ।

अनुरोधमा क्लिक गरी कुन खण्डमा के परिवर्तन माग गरिएको हो र त्यसको कारण हेर्नुहोस्। अवस्था स्तम्भबाट अनुरोध केन्द्रमा पर्खिरहेको, लागू भएको वा अस्वीकृत भएको थाहा हुन्छ।

चरण ७ · किसान अद्यावधिक अनुरोध
चित्र १०: चरण ७ · किसान अद्यावधिक अनुरोध
  1. १बायाँ मेनुबाट “किसान अद्यावधिक अनुरोध” खोल्नुहोस्।
  2. २सूचीमा कुन किसानको कुन खण्ड सच्याउन अनुरोध आएको छ र त्यो कुन अवस्थामा छ भन्ने देखिन्छ।

११. फिर्ता भएका विवरण कहाँ जान्छन्?

फिर्ता पठाइएको विवरण हराउँदैन; तलको तालिका अनुसार सम्बन्धित चरणमा फर्कन्छ र त्यहीँबाट पुनः सच्याएर अगाडि बढाउन सकिन्छ।

पालिकाले वडामा फिर्ता पठाएको विवरण “वडामा प्रमाणीकरण बाँकी” मा फर्कन्छ, अर्थात् वडाको कामको सूचीमा। केन्द्रले फिर्ता पठाएको विवरण पनि पालिकामा नरोकिई सोझै वडामै पुग्दछ, किनभने सच्याउने काम वडा तहबाट सुरु हुन्छ। पालिकाको इन्टेक चरणबाट फिर्ता गरिएको विवरण भने गणक/सहजकर्ताकहाँ “अपूर्ण भरिएको विवरण” मा फर्कन्छ।

कुन विवरण किन फिर्ता भयो भन्ने कुरा किसानको विवरण पृष्ठको “इतिहास” मा कारणसहित अभिलेख भएको हुन्छ।

फारम भर्ने विस्तृत विधि

किसानको पूरा विवरण आठ खण्डमा भरिन्छ र यही क्रममा देखिन्छ: पारिवारिक विवरण, जग्गा तथा सिँचाई, बाली उत्पादन, पशुपन्छी, व्यवसाय/आम्दानी, यन्त्र तथा संरचना, अनुदान विवरण र फोटो तथा कागजातहरू। यसभन्दा अघि आधारभूत विवरण (किसान दर्ता) भरिन्छ र अन्त्यमा अन्तिम जाँच गरी पेस गरिन्छ। यस अध्यायमा प्रत्येक खण्डको हरेक बाकसमा के लेख्ने, कुन विकल्प छान्ने र प्रणालीले कुन सीमा जाँच्छ भन्ने क्रमशः दिइएको छ।

सबै खण्डमा लागू हुने नियम: तारा (*) भएको बाकस अनिवार्य हो। नाम, टोल र उद्यमको नाम/ठेगाना देवनागरीमा लेख्नुपर्छ; अङ्ग्रेजी किबोर्डबाट टाइप गर्दा पनि बाकसले आफैँ देवनागरीमा बदल्छ। सङ्ख्याको बाकसमा सीमाभन्दा बढी वा नमिल्ने अङ्क लेख्नेबित्तिकै बाकस रातो हुन्छ र त्यसको तल कारण लेखिन्छ; नसच्याएसम्म खण्ड सुरक्षित हुँदैन।

क्षेत्रफल तीन बाकसमा लेखिन्छ: रोपनी-आना-पैसा (१ रोपनी = १६ आना, १ आना = ४ पैसा) वा बिघा-कट्ठा-धुर (१ बिघा = २० कट्ठा, १ कट्ठा = २० धुर)। त्यसैले आना ० देखि १५, पैसा ० देखि ३, कट्ठा र धुर ० देखि १९ सम्म मात्र मिल्छ। जस्तै ५ रोपनी ४ आना २ पैसा भए ५ | ४ | २ लेख्नुहोस्। बाली र पशुपन्छी खण्डको क्षेत्रफलको एकाइ जग्गा खण्डको पहिलो कित्ताको एकाइबाट आफैँ लिइन्छ।

खण्डको अन्त्यमा “सुरक्षित गरी अगाडि बढ्नुहोस्” थिच्दा विवरण सुरक्षित भई अर्को खण्ड खुल्छ। एउटै खण्डमा धेरै पङ्क्ति चाहिए “थप्नुहोस्” ले नयाँ पङ्क्ति थप्छ, “हटाउनुहोस्” ले हटाउँछ (विवरण भरिएको पङ्क्ति हटाउनुअघि प्रणालीले सोध्छ)। कुनै समूहको चिन्ह हटाउँदा त्यसको खण्ड लुक्छ र त्यसका बाकस सुरक्षित हुँदैनन्।

सूचनावर्गीकृत भइसकेको (परिचय पत्र जारी भएको) किसानको विवरण बदल्दा “परिवर्तनको कारण” अनिवार्य लेख्नुपर्छ। नाम, ठेगाना जस्ता विवरण तुरुन्तै लागू हुन्छ; जग्गा, आम्दानी वा पशुपन्छीको परिवर्तन केन्द्रको स्वीकृतिपछि मात्र लागू हुन्छ।

क. आधारभूत विवरण

नयाँ किसान “नयाँ किसान दर्ता” बाट सुरु गरिन्छ; दर्ता भइसकेको किसानको यही विवरण प्रोफाइलको “आधारभूत विवरण” बाट सच्याइन्छ। दुवैमा बाकस उही हुन्। नयाँ दर्तामा अन्त्यमा “सहमति” मा चिन्ह लगाउनुपर्छ: किसानले विवरण सङ्कलन गर्न सहमति दिएपछि मात्र दर्ता हुन्छ।

मोबाइल नम्बर किसानको लग-इन पनि हो, त्यसैले किसानकै चलेको नम्बर लेख्नुहोस्। नागरिकता नम्बर र जारी जिल्ला नागरिकताको प्रमाणपत्र हेरेर मात्र लेख्नुहोस्।

आधारभूत विवरण
चित्र क: आधारभूत विवरण
  1. १“नाम (नेपालीमा)” अनिवार्य हो; बीचको नाम र थर भए लेख्नुहोस्। अङ्ग्रेजी नाम ऐच्छिक हो, त्यसमा अक्षर, खाली ठाउँ र . ' - मात्र मिल्छ।
  2. २लिङ्ग छान्नुहोस्: पुरुष, महिला वा अन्य।
  3. ३जन्म मिति बाकसमा क्लिक गर्दा नेपाली पात्रो खुल्छ; साल, महिना र गते छान्नुहोस्। हातैले लेख्दा २०३५-०४-१५ ढाँचामा लेख्नुहोस्।
  4. ४मोबाइल नम्बर लेख्नुहोस्। अर्को प्रयोगकर्तामा दर्ता भइसकेको नम्बर मिल्दैन।
  5. ५नागरिकता नम्बर (अङ्क, - र / मात्र) र जारी जिल्ला छान्नुहोस्। राष्ट्रिय परिचयपत्र नम्बर भए त्यो पनि लेख्नुहोस् (ऐच्छिक)।
  6. ६स्थायी ठेगानामा पहिले प्रदेश छान्नुहोस्; त्यसपछि मात्र जिल्लाको सूची आउँछ, अनि स्थानीय तह र वडा। टोल / मार्ग देवनागरीमा लेख्नुहोस्।
  7. ७खेती स्थायी ठेगानामै हुन्छ भने “स्थायी ठेगाना सरह” मा चिन्ह लगाउनुहोस्। फरक ठाउँमा खेती गर्नुहुन्छ भने चिन्ह हटाई कृषि गरेको ठेगाना भर्नुहोस्।
  8. ८कृषि कार्यको क्षेत्र (कृषि, पशुपन्छी वा मिश्रित), वर्षमा कति महिना कृषि कार्य गर्नुहुन्छ र शैक्षिक योग्यता छान्नुहोस्।
  9. ९कृषि सम्बन्धी अध्ययन वा तालिम लिएको भए “थप्नुहोस्” थिची विषय, अवधि, वर्ष र प्रदान गर्ने निकाय लेख्नुहोस्। नलिएको भए खाली छोड्नुहोस्।
आधारभूत विवरणका बाकस
बाकसके भर्नेनियम / सीमा
नाम (नेपालीमा) *किसानको पहिलो नामदेवनागरी अक्षर र खाली ठाउँ मात्र, बढीमा १०० अक्षर
बीचको नाम, थर (नेपालीमा)भए लेख्नुहोस्देवनागरी मात्र
नाम/बीचको नाम/थर (अङ्ग्रेजीमा)ऐच्छिकA–Z, खाली ठाउँ, . ' - मात्र; अक्षरबाट सुरु
लिङ्ग *पुरुष, महिला वा अन्यछान्नै पर्छ
जन्म मिति (वि.सं.) *पात्रोबाट छान्नुहोस्साल १९७५ देखि २१०० वि.सं.; भविष्यको मिति मिल्दैन
मोबाइल नम्बर *किसानको चलेको मोबाइल९८/९७/९६ बाट सुरु हुने १० अङ्क; अर्कोमा दर्ता भएको मिल्दैन
नागरिकता नम्बर *प्रमाणपत्रमा लेखिएजस्तैअङ्क, - र / मात्र, ३ देखि ३० अक्षर; अर्को किसानमा दर्ता भएको मिल्दैन
नागरिकता जारी जिल्ला *प्रमाणपत्र जारी भएको जिल्लाखोजेर छान्न मिल्छ
राष्ट्रिय परिचयपत्र नम्बरभए मात्र८ देखि २० अङ्क (ड्यास चल्छ); अर्कोमा दर्ता भएको मिल्दैन
प्रदेश, जिल्ला, स्थानीय तह, वडा *स्थायी ठेगानामाथिल्लो छानेपछि मात्र तलको सूची आउँछ
टोल / मार्ग *गाउँ/टोलको नामदेवनागरी मात्र (अङ्क र चिन्ह चल्छ)
स्थायी ठेगाना सरहखेती स्थायी ठेगानामै भए चिन्हचिन्ह नभए कृषि गरेको ठेगानाका सबै बाकस अनिवार्य
कृषि कार्यको क्षेत्र *कृषि (बाली उत्पादन), पशुपन्छी/घाँसेबाली/मत्स्य, वा मिश्रितकृषि छान्दा पशुपन्छी खण्ड र पशुपन्छी छान्दा बाली खण्ड देखिँदैन
वार्षिक औसत कति महिना कृषि कार्य? *३ महिनाभन्दा कम देखि बर्षैभरिछान्नै पर्छ
शैक्षिक योग्यता *निरक्षर, सामान्य लेखपढ, प्राथमिक, माध्यमिक, स्नातक वा माथिछान्नै पर्छ
अध्ययन/तालिम (हरेक पङ्क्ति)विषय, अवधि (जस्तै ३ महिना), वर्ष, प्रदान गर्ने निकाय, कैफियतपङ्क्ति थपेपछि विषय अनिवार्य; वर्ष १९७५ देखि २१०० वि.सं.
सहमति (नयाँ दर्तामा मात्र) *किसानले सहमति दिएपछि चिन्हचिन्ह बिना दर्ता हुँदैन
ध्यान दिनुहोस्एउटै नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर वा मोबाइल नम्बर अर्को किसानमा दर्ता भइसकेको भए प्रणालीले दर्ता गर्न दिँदैन। त्यस्तो बेला किसान पहिल्यै दर्ता छ कि छैन भनी “किसान खोज्नुहोस्” बाट जाँच्नुहोस्; नयाँ दर्ता नगर्नुहोस्।

ख. पारिवारिक विवरण

परिवारमा भएका जम्मा पुरुष र महिलाको सङ्ख्या, तीमध्ये कृषिमा संलग्न सदस्यको सङ्ख्या र ती सदस्यको विवरण भरिन्छ। किसान आफैँ पहिलो पङ्क्तिमा आफैँ देखिनुहुन्छ; त्यो पङ्क्ति यहाँ सच्याउन मिल्दैन।

कृषिमा संलग्न सङ्ख्यामा किसान आफैँ पनि गनिनुहुन्छ। त्यसैले थप्न मिल्ने सदस्य पङ्क्ति = कृषिमा संलग्न सङ्ख्या − १। जस्तै संलग्न ३ जना भए किसानबाहेक २ जनाको विवरण थप्नुहोस्।

पारिवारिक विवरण
चित्र ख: पारिवारिक विवरण
  1. १“पुरुष” र “महिला” मा परिवारका सबै सदस्यको सङ्ख्या लेख्नुहोस् (किसानसहित)।
  2. २“कृषिमा संलग्न सदस्य संख्या” मा किसानसहित कृषिमा लाग्ने जम्मा सङ्ख्या लेख्नुहोस्। यो पुरुष र महिलाको जोडभन्दा बढी हुन सक्दैन।
  3. ३“सदस्य थप्नुहोस्” थिची हरेक सदस्यको नाता, नाम, उमेर, लिङ्ग, फोन र कृषि गतिविधि भर्नुहोस्। नाता छान्दा लिङ्ग आफैँ छानिन्छ। सीमा पुगेपछि बटन आफैँ बन्द हुन्छ।
  4. ४“कृषि पेशामा संलग्न अवधि (वर्ष)” छान्नुहोस् र सुरक्षित गर्नुहोस्।
पारिवारिक विवरणका बाकस
बाकसके भर्नेनियम / सीमा
पुरुष *, महिला *परिवारका सदस्यको सङ्ख्या० देखि ९९
कृषिमा संलग्न सदस्य संख्याकिसानसहित० देखि ९९; पुरुष + महिलाभन्दा बढी हुँदैन
नाताआफै, बुवा, आमा, छोरा, छोरी, पति, पत्नी, बुहारी आदि २६ विकल्पपङ्क्ति थपेपछि अनिवार्य
नामसदस्यको नामदेवनागरी मात्र; पङ्क्ति थपेपछि अनिवार्य
उमेरवर्षमा० देखि १२०
लिङ्गपुरुष, महिला, अन्य
फोनभए मात्र९८/९७/९६ बाट सुरु हुने १० अङ्क
नागरिकता/अन्यनागरिकता वा अन्य परिचयऐच्छिक
कृषि गतिविधि *उत्पादन, प्रशोधन, बजारीकरण, कृषि उद्यम, कृषि श्रमिकहरेक सदस्यको अनिवार्य
कृषि पेशामा संलग्न अवधि (वर्ष) *१ देखि २०, वा २० भन्दा माथिछान्नै पर्छ
ध्यान दिनुहोस्कृषिमा संलग्न सङ्ख्या १ भन्दा बढी लेखेपछि कम्तीमा एक जना सदस्यको विवरण थप्नुपर्छ। सङ्ख्याभन्दा बढी सदस्य थपिएका पुराना अभिलेखलाई प्रमाणीकरणमा “कृषिमा संलग्न संख्याभन्दा बढी सदस्य विवरण” भनी देखाइन्छ।

ग. जग्गा तथा सिँचाई

किसानले खेती गर्ने हरेक जग्गाको कित्ता वा टुक्राको छुट्टै कार्ड भरिन्छ: आफ्नो, परिवारको नाममा, भाडा/लिजमा लिएको वा दिएको, ऐलानी/पर्ती सबै यहीँ भर्न सकिन्छ। आफ्नै नाममा जग्गा नभए पनि भाडामा लिएर खेती गर्नुहुन्छ भने “जग्गा छैन” होइन, “छ” छानी स्वामित्वमा “भाडामा लिएको” छान्नुहोस्।

पहिलो कित्ताको क्षेत्रफलको एकाइ (रोपनी वा बिघा) नै बाली र पशुपन्छी खण्डको एकाइ बन्छ, त्यसैले मुख्य जग्गा पहिले भर्नुहोस्। ऐलानी/पर्ती जग्गाको विवरण तथ्याङ्कका लागि मात्र हो, कानुनी प्रयोजनमा मान्य हुँदैन।

जग्गा तथा सिँचाई
चित्र ग: जग्गा तथा सिँचाई
  1. १“जग्गा छ कि छैन?” मा “छ” छान्नुहोस्। “छैन” छान्दा प्रणालीले फेरि सोध्छ; कुनै पनि जग्गामा खेती नगर्ने भए मात्र “जग्गा छैन” थिच्नुहोस्।
  2. २स्वामित्व छान्नुहोस्। भाडामा लिएको वा दिएको छान्दा तल “भाडा/लिज सम्झौता” खुल्छ; अर्को पक्षको नाम र सम्झौताको प्रकार अनिवार्य भर्नुहोस्। त्यसपछि किसिम (खेत वा पाखो/बारी) र प्रयोग छान्नुहोस्।
  3. ३वर्गीकरणमा मालपोत अभिलेख अनुसार “कृषि” वा “गैर-कृषि” छान्नुहोस्। कम्तीमा एउटा कित्ता कृषि नभएसम्म विवरण केन्द्रमा सिफारिस गर्न मिल्दैन।
  4. ४एकाइ (रोपनी-आना-पैसा, बिघा-कट्ठा-धुर वा वर्ग मिटर) छानी क्षेत्रफल लेख्नुहोस्।
  5. ५सिँचाई पुग्छ भने “सिँचित क्षेत्र छ” मा चिन्ह लगाई सिँचित क्षेत्रफल, सिँचाई सुविधा र स्रोत छान्नुहोस्।
  6. ६अर्को कित्ता वा टुक्रा भए “जग्गा थप्नुहोस्” थिची त्यसको पनि छुट्टै कार्ड भर्नुहोस्।
  7. ७अर्को स्थानीय तहमा पनि खेती गर्नुहुन्छ भने चिन्ह लगाई तल ठेगाना र क्षेत्रफल भरी “स्थान थप्नुहोस्” थिच्नुहोस्। यो आफैँ सुरक्षित हुन्छ।
जग्गाको हरेक कार्डका बाकस
बाकसके भर्नेनियम / सीमा
स्वामित्वआफ्नो, परिवारको नाममा, ऐलानी/पर्ती, भाडामा लिएको, भाडामा दिएकोविवरण भरिएको कार्डमा अनिवार्य
किसिमखेत (धान फल्ने समतल) वा पाखो/बारीऐच्छिक
प्रयोगबाँझो, कृषि वन, कृषि, पशुपन्छी/मत्स्यपालन, कृषि उद्योग, मिश्रितऐच्छिक
वर्गीकरणमालपोत अभिलेख अनुसार कृषि वा गैर-कृषिकेन्द्रमा सिफारिसका लागि कम्तीमा एउटा कृषि चाहिन्छ
एकाइरोपनी-आना-पैसा, बिघा-कट्ठा-धुर, वर्ग मिटरपहाडमा प्रायः रोपनी, तराईमा बिघा
क्षेत्रफलतीन बाकस (वर्ग मिटरमा एउटै)आना ०–१५, पैसा ०–३, कट्ठा ०–१९, धुर ०–१९; शून्य क्षेत्रफल मिल्दैन
सिँचित क्षेत्र छसिँचाई पुग्छ भने चिन्हचिन्ह नभए सिँचाई नभएको मानिन्छ
सिँचित क्षेत्रफलपानी पुग्ने भागमाथिको क्षेत्रफलभन्दा बढी हुन हुँदैन
सिँचाई सुविधाबर्षैभरि सिँचाइ सुविधा भएको वा नभएको
सिँचाईको स्रोतकुलो, नहर, पोखरी, भूमिगत, लिफ्ट, पम्प, सौर्य आदि; एकभन्दा बढी छान्न मिल्छ“अन्य” छान्दा स्रोतको नाम अनिवार्य
सम्झौताको अर्को पक्ष *भाडामा लिएको/दिएको जग्गामा, जग्गा दिने वा लिनेको नामभाडाको जग्गामा अनिवार्य
सम्झौता *करार, भाडा, ठेक्का, बन्धकी, अधियाँभाडाको जग्गामा अनिवार्य
अन्य स्थानमा खेतीप्रदेश, जिल्ला, स्थानीय तह, वडा, क्षेत्रफल, सिँचाईचिन्ह लगाएपछि कम्तीमा एउटा स्थान थप्नुपर्छ
ध्यान दिनुहोस्क्षेत्रफल शून्य भएको कित्ता विवरण अघि बढाउन रोकिने त्रुटि हो। “जग्गा छ” भनेर कुनै कार्ड नभरेमा पनि पेस गर्न मिल्दैन।

घ. बाली उत्पादन

किसानले लगाउने हरेक बालीको नाम, क्षेत्रफल र वार्षिक उत्पादन भरिन्छ। पहिले कुन कुन समूहका बाली लगाउनुहुन्छ भनी चिन्ह लगाउनुहोस्; चिन्ह लगाएको समूहको मात्र खण्ड खुल्छ र त्यसैमा बाली थपिन्छ।

केही समूहमा थप बाकस आउँछन्: फलफूलमा बोट सङ्ख्या; चियामा श्रोत र सी.टी.सी., अर्थोडक्स, हर्बल र अन्यको उत्पादन (के.जी.); च्याउमा टनेल सङ्ख्या र प्लाष्टिक घरको क्षेत्रफल; मौरीमा घार सङ्ख्या र उत्पादनको प्रकार; रेशममा किरा सङ्ख्या। बीउ/बेर्ना नर्सरीमा प्रकार (बीउ वा बेर्ना), बाली, बालीको नाम र किसिम (स्थानीय वा उन्नत) क्रमैसँग छानिन्छ।

बाली उत्पादन
चित्र घ: बाली उत्पादन
  1. १“बाली लगाएको छु” छान्नुहोस्। बाली नलगाउने भए “बाली लगाएको छैन” छानी सुरक्षित गर्नुहोस्।
  2. २खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, मसला, औद्योगिक, च्याउ, मौरी, रेशम, पुष्प खेती, बीउ/बेर्ना नर्सरी र अन्य बालीमध्ये लगाउने समूहमा चिन्ह लगाउनुहोस्।
  3. ३खुलेको समूहमा बालीको नाम छान्नुहोस्। तरकारीको सूची लामो भएकाले नाम टाइप गरेर खोज्न मिल्छ। सूचीमा नभए “अन्य” छानी नाम लेख्नुहोस्।
  4. ४क्षेत्रफल लेख्नुहोस्। एकाइ जग्गा खण्डको पहिलो कित्ताबाट आफैँ आउँछ।
  5. ५वार्षिक उत्पादन परिमाण लेखी एकाइ (के.जी., क्विन्टल वा मेट्रिक टन) छान्नुहोस्।
  6. ६सोही समूहको अर्को बाली भए समूहको “थप्नुहोस्” थिच्नुहोस्।
बालीको हरेक पङ्क्तिका बाकस
बाकसके भर्नेनियम / सीमा
बालीको नामसमूहको सूचीबाट (च्याउ/मौरी/रेशमको जात, पुष्पको नाम)अनिवार्य; “अन्य” छान्दा नाम लेख्नुपर्छ
बोट सङ्ख्या (फलफूल)फलेका वा लगाएका बोट० वा बढी, पूर्ण अङ्क
क्षेत्रफलतीन बाकसरेशममा “किम्बु लगाइएको क्षेत्रफल”; च्याउ र मौरीमा हुँदैन
उत्पादन परिमाणवार्षिक उत्पादनएकाइ के.जी. (पूर्वनिर्धारित), क्विन्टल वा मेट्रिक टन; अन्य बालीमा संख्या पनि
श्रोत र चार उत्पादन (चिया)बगान वा अन्य; सी.टी.सी., अर्थोडक्स, हर्बल, अन्य के.जी.माजम्मा उत्पादन यी चारको जोड
जात (कफी)अरेविका वा रोवस्टाऐच्छिक
टनेल सङ्ख्या, प्लाष्टिक घर क्षेत्रफल (च्याउ)क्षेत्रफल वर्ग मिटर वा गोलामापूर्ण अङ्क
घार सङ्ख्या, उत्पादनको प्रकार (मौरी)मह, घार, गोला, रोयल जेली, प्रोपेलिस, भेनोम, मैन, अन्यमह/मैन आदि के.जी.मा, घार/गोला सङ्ख्यामा
किरा संख्या (रेशम)किराको बाकस सङ्ख्यापूर्ण अङ्क
उत्पादनको बढीमा सीमाप्रणालीले के.जी.मा बदलेर जाँच्छतरकारी/औद्योगिक १,००० मे.ट.; खाद्यान्न २०० मे.ट.; फलफूल/कफी/च्याउ/चिया १०० मे.ट.; दलहन/तेलहन/मसला/बीउ/अन्य ५० मे.ट.; पुष्प २० मे.ट.; मौरी (के.जी.मा) ५,००० के.जी.
ध्यान दिनुहोस्“बाली लगाएको छु” छानेर कुनै बाली नथपेमा वा कुनै समूहमा चिन्ह लगाएर बाली नभरेमा खण्ड सुरक्षित हुँदैन। उत्पादन सीमाभन्दा बढी लेखे बाकस रातो हुन्छ; एकाइ (के.जी. कि मेट्रिक टन) ठीक छानिएको छ कि जाँच्नुहोस्।

ङ. पशुपन्छी

किसानले पालेका पशु, पन्छी, माछा र घाँसेबालीको विवरण भरिन्छ। पहिले पाल्ने प्रकारमा चिन्ह लगाउनुहोस्; हरेक प्रकारको छुट्टै खण्ड खुल्छ र जात अनुसार पङ्क्ति थपिन्छ।

बाख्रा, भेँडा र बंगुरमा एउटै सङ्ख्याको सट्टा भूमिका अनुसार गनिन्छ (जस्तै बाख्रामा माउ, खसी, बोका, पाठा/पाठी) र जम्मा आफैँ जोडिन्छ। गाई र भैंसीमा सङ्ख्यासँगै दुध दिने महिना र दैनिक दुध; कुखुरा र अन्य पन्छीमा वार्षिक अण्डा र बिक्री सङ्ख्या; माछामा पोखरीको क्षेत्रफल, पोखरी सङ्ख्या, प्रयोजन र उत्पादन; घाँसेबालीमा घाँसको किसिम, जात, क्षेत्रफल, हरियो घाँस (मे.ट.) र बीउ (के.जी.) भरिन्छ।

पशुपन्छी
चित्र ङ: पशुपन्छी
  1. १“पशुपन्छी पालेको छु” छान्नुहोस्। नपाल्ने भए “पालेको छैन” छानी सुरक्षित गर्नुहोस्।
  2. २गाई, भैंसी, भेँडा, बाख्रा, बंगुर, कुखुरा, अन्य पन्छी, माछा, घाँसे बाली वा अन्य पशुमध्ये पालेकोमा चिन्ह लगाउनुहोस्।
  3. ३हरेक खण्डमा जात/नश्ल छान्नुहोस्। एउटै प्रकारका दुई जात भए “थप्नुहोस्” बाट अर्को पङ्क्ति थप्नुहोस्।
  4. ४सङ्ख्या लेख्नुहोस्। बाख्रा, भेँडा र बंगुरमा भूमिका अनुसारका बाकसमा लेख्नुहोस्।
  5. ५गाई र भैंसीमा वर्षमा औसत कति महिना दुध दिन्छ (० देखि १२) र दैनिक कति लिटर दुध हुन्छ लेख्नुहोस्।
  6. ६कुखुरा र पन्छीमा वार्षिक अण्डा र बिक्रीका लागि उत्पादन सङ्ख्या लेख्नुहोस्। ब्रोइलरमा अण्डाको बाकस आउँदैन।
पशुपन्छीका बाकस र सीमा
बाकसके भर्नेनियम / सीमा
जात/नश्लगाई: स्थानीय, उन्नत, चौरी, याक/नाक; भैंसी: स्थानीय, उन्नत; बाख्रा: स्थानीय, उन्नत, च्याङ्ग्रा; बंगुर: स्थानीय, उन्नत, बँदेल; कुखुरा: स्थानीय, लेयर्स, ब्रोइलर, प्यारेन्ट, अन्य“अन्य” छान्दा नाम अनिवार्य
सङ्ख्यापालेको जम्माकुखुरा बढीमा १,००,०००; गाई, भैंसी, बाख्रा, भेँडा, बंगुर, अन्य पन्छी बढीमा १,०००
माउ, खसी, बोका, पाठा/पाठी (बाख्रा)भूमिका अनुसारजम्मा पनि १,००० भित्र
माऊ, थुमा, पाठापाठी (भेँडा); माउ, भाले, पाठा/पाठी (बंगुर)भूमिका अनुसारजम्मा १,००० भित्र
वार्षिक औसत दुध दिने महिनागाई/भैंसी० देखि १२
दैनिक दुध उत्पादन (लि.)सबै गाई वा भैंसीको जम्माप्रति गोटा बढीमा ५० लि. (चौरी/याक १० लि.) × सङ्ख्या
वार्षिक औसत अण्डा उत्पादनकुखुरा/पन्छीप्रति गोटा बढीमा ३५० × सङ्ख्या
जात/प्रजाती (माछा)रोहु, नैनी, भाकुर, सिल्भर कार्प, ग्रास कार्प, कमन कार्प, ट्राउट, टिलापिया आदि; धेरै छान्न मिल्छ
पोखरीको क्षेत्रफल, सङ्ख्या (माछा)पोखरीको जम्मा क्षेत्रफल र पोखरी सङ्ख्याप्रति पोखरी बढीमा ५ हेक्टर
उत्पादन प्रयोजन, एकाइ, परिमाण (माछा)मासु, जिउँदो बिक्री वा भुरा; के.जी., संख्या, क्विन्टल, मे.ट.प्रति हेक्टर बढीमा ३०,००० माछा (तौलमा औसत २.५ के.जी. प्रति माछा)
घाँसको किसिम, जात (घाँसे बाली)हिउँदे, वर्षे, वहुवर्षे, डालेघाँस, नर्सरी, हे, साइलेज, अन्यसूचीमा नभए जात लेख्नुहोस्
हरियो घाँस उत्पादन (मे. टन), बीउ उत्पादन (के.जी.)घाँसे बालीको वार्षिक उत्पादन० वा बढी
प्रकार (अन्य पशु)घोडा, खच्चड, गधा, खरायो, कुकुर, बिरालो, अन्यअनिवार्य
ध्यान दिनुहोस्सङ्ख्या शून्य राखेर पशुपन्छीको पङ्क्ति नछोड्नुहोस्। नपालेको प्रकार भए त्यसको चिन्ह नै हटाउनुहोस्। शून्य सङ्ख्याको पङ्क्तिलाई प्रमाणीकरणमा त्रुटि भनी देखाइन्छ।

च. व्यवसाय/आम्दानी

यस खण्डमा किसानको दर्ता भएको कृषि फर्म वा उद्यम, सहकारी/समूहको सदस्यता र वार्षिक आम्दानी भरिन्छ। फर्म वा उद्यम नभए त्यसका बाकस खाली छोड्नुहोस्।

व्यवसाय/आम्दानी
चित्र च: व्यवसाय/आम्दानी
  1. १फर्म वा उद्यम दर्ता छ भने त्यसको नाम र ठेगाना देवनागरीमा लेख्नुहोस्।
  2. २दर्ता नम्बर, VAT/PAN, सदस्य सङ्ख्या, दर्ता मिति, दर्ता भएको कार्यालय, किसिम, रोजगारी सङ्ख्या र अध्यक्ष वा सञ्चालकको नाम भर्नुहोस्।
  3. ३किसान सहकारी वा समूहको सदस्य हुनुहुन्छ भने चिन्ह लगाई “सहकारी थप्नुहोस्” बाट प्रकार र नाम थप्नुहोस्।
  4. ४बाली, पशुपन्छी र माछासमेतबाट वर्षभरिमा हुने आम्दानी रुपैयाँमा लेख्नुहोस्।
  5. ५कृषिबाहेकका पेशाबाट हुने आम्दानी लेख्नुहोस्। जम्मा आफैँ जोडिन्छ।
व्यवसाय/आम्दानीका बाकस
बाकसके भर्नेनियम / सीमा
व्यवसाय फर्म/उद्यमको नामदर्ता भएको नामदेवनागरी मात्र; खाली भए फर्म नभएको मानिन्छ
ठेगानाफर्मको ठेगानादेवनागरी मात्र
दर्ता नम्बरदर्ता प्रमाणपत्र अनुसार
VAT/PAN नम्बरभए मात्र९ देखि १५ अङ्क
सदस्य संख्याफर्मका सदस्य० वा बढी
दर्ता मिति (वि.सं.)पात्रोबाटभविष्यको मिति मिल्दैन
दर्ता भएको कार्यालयजस्तै घरेलु तथा साना उद्योग कार्यालयदेवनागरी मात्र
किसिमकृषि, पशुपालन, मिश्रित
वार्षिक रोजगारी सिर्जना सङ्ख्याफर्मले दिएको रोजगारी० वा बढी
अध्यक्ष वा सञ्चालकको नामदेवनागरी मात्र
सहकारी/समूह: प्रकार, नामसमूह वा सहकारी; त्यसको नाम देवनागरीमानाम नभएको पङ्क्ति सुरक्षित हुँदैन
कृषि पेशाबाट हुने (रु.)बाली, पशुपन्छी, मत्स्यसमेतको वार्षिक आम्दानी; खानाको लागि प्रयोग हुने कृषि उत्पादनलाई समेत समेट्नुपर्छ० वा बढी
गैर कृषि पेशाबाट हुने (रु.)अन्य पेशाको वार्षिक आम्दानी० वा बढी
जम्मा (रु.)आफैँ जोडिन्छलेख्न मिल्दैन
ध्यान दिनुहोस्आम्दानीका सबै बाकस शून्य राखेमा प्रमाणीकरणमा “आम्दानी/लगानी सबै शून्य” भनी देखाइन्छ। किसानसँग सोधेर अनुमानित आम्दानी भए पनि लेख्नुहोस्।

छ. यन्त्र तथा संरचना

यो खण्डमा दुई ट्याब छन्: “यन्त्र” र “संरचना”। दुवै छुट्टाछुट्टै सुरक्षित गर्नुपर्छ; यन्त्र वा संरचना नभए पनि “छैन” छानी सुरक्षित गर्नुहोस्, नत्र प्रणालीले अर्को ट्याबमा फर्काउँछ।

यन्त्रमा स्वामित्व “आफ्नो” भए मात्र सङ्ख्या र क्षमता सोधिन्छ; भाडामा वा समूह/सहकारीको यन्त्रमा स्वामित्व छानेपछि पुग्छ। क्षमता नहुने यन्त्र (जस्तै मिल्किङ्ग मेशिन, ट्रली, नेट) मा क्षमताको बाकस आउँदैन।

यन्त्र तथा संरचना
चित्र छ: यन्त्र तथा संरचना
यन्त्र तथा संरचना
चित्र छ: यन्त्र तथा संरचना
  1. १“यन्त्र” ट्याबमा यन्त्र भए “यन्त्र छ” छान्नुहोस्।
  2. २भू-तयारी तथा रोपाइँ, सिँचाइ तथा पम्प, बाली संरक्षण/कटानी/प्रशोधन, पशुपन्छी सम्बन्धी, मत्स्य सम्बन्धी वा ढुवानी तथा अन्यमध्ये समूहमा चिन्ह लगाउनुहोस्।
  3. ३यन्त्रको नाम छान्नुहोस् (सूचीमा नभए “अन्य” छानी नाम लेख्नुहोस्) र स्वामित्व: आफ्नो, भाडामा, समूह वा सहकारी।
  4. ४आफ्नो यन्त्र भए सङ्ख्या, क्षमताको एकाइ (अश्वशक्ति, सीसी, किलोवाट, लिटर) र क्षमता लेखी सुरक्षित गर्नुहोस्।
  5. ५“संरचना” ट्याब खोली संरचना भए “संरचना छ” छान्नुहोस् र समूहमा चिन्ह लगाउनुहोस्।
  6. ६संरचनाको प्रकार छान्नुहोस्। प्लास्टिक घर / नेट हाउस छान्दा त्यसको प्रकार पनि छान्नुपर्छ।
  7. ७सङ्ख्या, क्षेत्रफल र एकाइ (वर्ग मिटर वा वर्ग फिट) लेखी सुरक्षित गर्नुहोस्।
यन्त्र तथा संरचनाका बाकस र सीमा
बाकसके भर्नेनियम / सीमा
यन्त्रको नामसमूहको सूचीबाट, जस्तै मिनी टिलर, पावर टिलर, ट्र्याक्टर, पम्पसेट, स्प्रेयर“अन्य” छान्दा नाम अनिवार्य
स्वामित्व *आफ्नो, भाडामा, समूह, सहकारीअनिवार्य
संख्या (आफ्नो यन्त्र)कति वटा१ देखि १०
क्षमता र एकाइ (आफ्नो यन्त्र)अश्वशक्ति, सीसी, किलोवाट, लिटरबढीमा ५०० अश्वशक्ति, ५,००० सीसी, ३७० किलोवाट, १०,००० लिटर
संरचनाको प्रकारसेड हाउस, भण्डार घर, प्लास्टिक घर/नेट हाउस, गोठ, खोर, बायोग्यास, पोखरी, ट्याङ्की आदिप्लास्टिक घर/नेट हाउसमा उप-प्रकार पनि अनिवार्य
संख्या (संरचना)कति वटा१ देखि ५० (सेड हाउस र गोठमा १००)
क्षेत्रफल र एकाइ (संरचना)एउटै बाकसमावर्ग मिटर वा वर्ग फिट; अनिवार्य

ज. अनुदान विवरण

किसानले कुनै निकायबाट पाएको भनी बताएको अनुदान यहाँ भरिन्छ। कार्यालयले प्रमाणित गरेको संस्थागत अनुदान अलग्गै अभिलेख हुन्छ, यहाँ सच्याइँदैन।

अनुदानको प्रकार छानेपछि मात्र विस्तृत विवरणको सूची आउँछ, र विस्तृत विवरण अनुसार परिमाणको बाकसको नाम र एकाइ आफैँ मिलिन्छ: बीउबिजन र मलमा परिमाण (के.जी.), सिंचाईमा क्षेत्रफल, बीमामा रकम, बाँकीमा सङ्ख्या।

अनुदान विवरण
चित्र ज: अनुदान विवरण
  1. १“अनुदान पाएको छु” छान्नुहोस्। नपाएको भए “पाएको छैन” छानी सुरक्षित गर्नुहोस्।
  2. २अनुदानको प्रकार (कृषि, पशुपन्छी पालन वा अन्य) र विस्तृत विवरण छान्नुहोस्। बीउ, यन्त्र वा संरचना भए त्यसको नाम पनि छान्न सकिन्छ।
  3. ३पाएको परिमाण वा सङ्ख्या लेख्नुहोस्; एकाइ प्रायः आफैँ छानिन्छ।
  4. ४अनुदानबापत पाएको रकम र अनुदान प्रतिशत (० देखि १००) लेख्नुहोस्।
  5. ५अनुदान दिने निकाय (स्थानीय तह, प्रदेश, संघीय वा आयोजना), कार्यालय र अनुदान पाएको साल छान्नुहोस्।
अनुदानको हरेक पङ्क्तिका बाकस
बाकसके भर्नेनियम / सीमा
अनुदानको प्रकारकृषि, पशुपन्छी पालन, अन्यअनिवार्य
विस्तृत विवरणकृषि: बीउबिजन/बेर्ना, मल, यन्त्र तथा उपकरण, संरचना, अन्य; पशुपन्छी: गाई, भैंसी, बाख्रा/भेडा, बंगुर, कुखुरा, माछापालन, यन्त्र, संरचना आदि; अन्य: सिंचाई, बीमा, कृषि मिटरअनिवार्य; “अन्य” भए के हो लेख्नुपर्छ
परिमाण/संख्या/क्षेत्रफल/रकमविस्तृत विवरण अनुसारअङ्कमा
एकाइके.जी., संख्या, रोपनी, बिघा, कठ्ठा, वर्ग मिटर, रुपैयाँएउटै एकाइ हुनेमा आफैँ छानिन्छ
अनुदानित रकम (रु.)अनुदानबापतको रकमबढीमा रु. १ करोड
अनुदान %कति प्रतिशत अनुदान० देखि १००
अनुदान दिने निकाय *स्थानीय तह, प्रदेश, संघीय, आयोजनाअनिवार्य
कार्यालयको प्रकार, प्रदायक कार्यालयनिकाय अनुसारको सूची; स्थानीय तहमा प्रदेश, जिल्ला र पालिकासूचीमा नभए “अन्य” छानी नाम लेख्नुहोस्
अनुदान पाएको साल (वि.सं.)सूचीबाट२०५० देखि चालु साल
कैफियतथप कुरा भएऐच्छिक

झ. फोटो तथा कागजातहरू

किसानको फोटो र नागरिकता, लालपुर्जा जस्ता कागजातको फोटो वा PDF यहाँ अपलोड गरिन्छ। फाइल छान्नेबित्तिकै अपलोड हुन्छ; तस्बिर आफैँ सानो बनाइन्छ र त्यसभित्रको स्थान (GPS) जस्ता विवरण हटाइन्छ।

मोबाइलबाट प्रयोग गर्दा “फोटो खिच्नुहोस्” बटनले सिधै क्यामेरा खोल्छ। कागजातको फोटो उज्यालोमा, पूरै पाना देखिने गरी खिच्नुहोस्।

फोटो तथा कागजातहरू
चित्र झ: फोटो तथा कागजातहरू
  1. १किसानको फोटो छान्नुहोस्। फोटोमाथि वर्गाकार बाकस देखिन्छ; अनुहार बीचमा पर्ने गरी मिलाई “अपलोड गर्नुहोस्” थिच्नुहोस्। नयाँ फोटोले पुरानो फोटो बदल्छ।
  2. २नागरिकता (अगाडि र पछाडि), जग्गाधनी प्रमाणपुर्जा, भाडा/करार सम्झौता, फर्म दर्ता प्रमाणपत्र वा अन्य कागजातमध्ये चाहिएकोमा चिन्ह लगाई फाइल छान्नुहोस्। एकपटकमा धेरै फाइल छान्न मिल्छ।
  3. ३“सबमिसन गर्नुहोस्” थिची अन्तिम जाँचमा जानुहोस्।
फाइलका नियम
बाकसके भर्नेनियम / सीमा
किसानको फोटोJPG, PNG वा WebPएउटा मात्र; नयाँले पुरानो बदल्छ
कागजातJPG, PNG, WebP वा PDFप्रति फाइल बढीमा ५ एम.बी.
उही फाइल दोहोर्‍याएरपहिले नै अपलोड भएको ठ्याक्कै उही फाइलमिल्दैन: “यो फाइल पहिले नै अपलोड भइसकेको छ।”
कागजात हटाउनेकागजातको रातो बटनहटाउनुअघि प्रणालीले सोध्छ; बदल्न हटाएर फेरि अपलोड गर्नुहोस्
सूचनाआफ्नो जग्गा भएको किसानको लालपुर्जा अपलोड नभए प्रमाणीकरणमा सूचना देखिन्छ। कागजात नभए पनि विवरण पेस गर्न रोकिँदैन।

ञ. अन्तिम जाँच र पेस

अन्तिम जाँचमा सबै खण्डमा भरिएको विवरण एकै पृष्ठमा देखिन्छ। किसानसँगै बसेर एक-एक गरी पढ्नुहोस्। कुनै विवरण मिलेन भने सोही खण्डको “सम्पादन” बाट सच्याउनुहोस्; सच्याएपछि फेरि यहीँ फर्किन्छ।

कुनै अनिवार्य खण्ड बाँकी भए “अझै पेश गर्न मिल्दैन” भनी बाँकी खण्डका बटन देखिन्छन्; तिनमा थिचेर सिधै सो खण्डमा पुगिन्छ।

अन्तिम जाँच र पेस
चित्र ञ: अन्तिम जाँच र पेस
  1. १माथि कति खण्ड भरिए भन्ने देखिन्छ। सबै खण्ड भरिएपछि मात्र पेस गर्न मिल्छ।
  2. २हरेक खण्डको विवरण किसानसँग रुजु गर्नुहोस्; मिलेन भने “सम्पादन” थिच्नुहोस्।
  3. ३सबै ठीक भएपछि “माथिका सबै विवरण किसानसँग रुजु गरी ठीक भएको पुष्टि गर्दछु।” मा चिन्ह लगाउनुहोस्।
  4. ४“प्रमाणीकरणको लागि पेश गर्नुहोस्” थिच्नुहोस्। विवरण पालिकामा पुग्छ।
ध्यान दिनुहोस्पेस गरेपछि गणक/सहजकर्ताले विवरण सच्याउन पाउनुहुन्न। सच्याउनुपरे पालिकाले फिर्ता पठाउनुपर्छ, त्यसैले पेस गर्नुअघि नाम, नागरिकता नम्बर, ठेगाना र जग्गाको क्षेत्रफल अनिवार्य रूपमा फेरि जाँच्नुहोस्।

१२. गणक/सहजकर्ताको आवेदन जाँची सक्रिय गर्नुहोस्

गणक/सहजकर्ताले “गणक/सहजकर्ता आवेदन” बाट दिएको आवेदन तपाईंको पालिकामा आउँछ। बायाँ मेनुको गणक/सहजकर्ता सूचीमा “बाँकी” मा ती आवेदन देखिन्छन्; “सक्रिय” र “निष्क्रिय” मा अरू गणक/सहजकर्ता छन्।

आवेदन खोली निवेदकको विवरण र कागजात (नियुक्ति पत्र, नागरिकता, फोटो) जाँच्नुहोस्। मिलेमा “गणक/सहजकर्ता सक्रिय गर्नुहोस्” थिच्नुहोस्; गणक/सहजकर्ताले त्यसपछि मात्र लग-इन गरी किसान दर्ता गर्न सक्नुहुन्छ र प्रणालीले गणक/सहजकर्ता कोड दिन्छ। काम छाडेको वा नमिलेको गणक/सहजकर्तालाई “गणक/सहजकर्ता निष्क्रिय गर्नुहोस्” बाट रोक्न सकिन्छ; उसले दर्ता गरेका किसानको विवरण भने रहिरहन्छ।